तेस्रो पर्वतीय दौड प्रतियोगिताका लागि फाराम खुला

-


     पोखरा क्लिक     
     असाेज २ गते २०८३ मा प्रकाशित


पोखरा, २ असोज,

पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते आयोजना हुने पर्वतीय दौड प्रतियोगिता २०८३ मा सहभागी हुन चाहने धावकका लागि अनलाइन दर्ता फाराम खुला भएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले पोखरा क्लिक डटकममा गएर अनलाइनमार्फत फाराम भर्न सक्ने प्रतियोगिताका संयोजक दीननाथ बरालले जानकारी दिनुभयो ।

प्रतियोगितामा विदेशी धावकसहित बढीमा ३ सय जनालाई मात्र सहभागी गराइने उहाँले बताउनुभयो । संयोजक बरालले अन्य दौड प्रतियोगिता भन्दा पुम्दी–भुम्दी पर्वतीय दौड केही फरक रहेको बताउनुभयो । ग्रामीण परिवेशमा रहेको पुम्दी–भुम्दी क्षेत्रका तीन धार्मिक तथा पर्यटकीय गन्तव्यलाई समेटेर प्रतियोगिता आयोजना गरिने भएकाले व्यवस्थापन सहज बनाउन पनि सहभागी सङ्ख्या सीमित गरिएको उहाँको भनाइ छ ।
विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने प्रतियोगिता यसअघि भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित भएकाले केही समय तयारी रोकिएको थियो। सोही कारण प्रतियोगिताको मिति दुई साता सारेर असोज २४ गते आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

पुम्दी–भुम्दी क्षेत्रको खेल तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगितामा म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स हस्पिटालिटी पार्टनरका रूपमा जोडिएको छ । नेलम्बो नेपाल मेडिकल पार्टनर र पोखरा टेलिभिजन अफिसियल टेलिभिजनका रूपमा रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सफल बनाउन पोखरा महानगरपालिकाले प्रबद्र्धन गरेको छ भने परिचय एड्भर्टाइजिङ, पोखरा महानगरपालिका–२२ वडा युवा परिषद्, स्थानीय क्लब, व्यवसायी तथा विभिन्न सङ्घसंस्थाको सहयोग रहेको आयोजकले जनाएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको अनुमतिमा पोखरा २२ को समन्वयमा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा खुलासहित ६ वटा विधामा प्रतिष्पर्धा हुँदैछ ।