बजार अनुगमन प्रभावकारी बन्दै कारबाही तीव्र भएपछि प्रशासनको ध्यानाकर्षण गराउँदै उद्योग वाणिज्य संघ

-


     पोखरा क्लिक     
     असाेज ५ गते २०८३ मा प्रकाशित


पोखरा, ५ असोज,

बजार अनुगमनका क्रममा व्यवसायी माथि कारबाही तीव्र हुन थालेपछि पोखरा उद्योग वाणिज्य संघले प्रशासनको ध्यानाकर्षण गराएको छ। संघले उपभोक्ता हितविपरीतका गतिविधि रोक्न व्यवसायीलाई सचेत गराउँदै अनुगमनका नाममा व्यवसायीलाई हतोत्साहित तथा आतंकित नपार्न सम्बन्धित निकायसँग आग्रह गरेको हो।

संघकी अध्यक्ष शोभा गौतम नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजार अनुगमनलाई व्यवस्थित, पारदर्शी र व्यवसायीमैत्री बनाउन आग्रह गरेको हो । चाडपर्व नजिकिँदै गर्दा सरकारी निकाय तथा विभिन्न संघसंस्थाले बजार अनुगमनलाई तीव्रता दिएका छन्। अनुगमनका क्रममा केही व्यवसायीमाथि कारबाही भएका समाचार सार्वजनिक भइरहेका बेला उद्योग वाणिज्य संघले व्यवसायीको अधिकार र उपभोक्ता हित दुवैलाई सन्तुलनमा राखेर अनुगमन गर्नुपर्नेमा जोड दिएको हो।संघले तोकिएकोभन्दा बढी मूल्यमा सामान बिक्री गर्ने, म्याद गुज्रेका वस्तु बिक्री गर्ने तथा उपभोक्ताको हित प्रतिकूल हुने कुनै पनि गतिविधिको समर्थन गर्न नसकिने स्पष्ट पारेको छ। तर, सामान्य त्रुटिलाई समेत आधार बनाएर व्यवसायीको प्रतिष्ठामाथि असर पर्ने गरी कारबाही र प्रचारप्रसार गरिनु उचित नहुने संघको भनाइ छ। ध्यानाकर्षण पत्रमा व्यवसायीले लामो समय लगाएर निर्माण गरेको ब्राण्ड तथा प्रतिष्ठामा असर पुग्ने गरी कारबाही नगर्न आग्रह गरिएको छ। विशेषगरी चाडपर्वका बेला पसल तथा बजारमा अत्यधिक भीड हुने समयमा गरिने अनुगमनले व्यवसायीलाई थप दबाबमा पार्ने संघको दाबी छ।

संघले समयमै उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन नगर्ने तर अनुगमनका क्रममा भएका सामान्य कमजोरीलाई सार्वजनिक रूपमा उछाल्ने प्रवृत्तिले व्यवसायीको मनोबल घटाउने जनाएको छ। कानुनी प्रक्रिया पूरा नगरी तत्काल दण्ड–जरिवाना गर्ने र त्यसलाई सञ्चारमाध्यममार्फत सार्वजनिक गर्दा व्यवसायीको कानुनी प्रतिरक्षाको अधिकारसमेत प्रभावित हुनसक्ने संघको भनाइ छ। संघले नेपालको संविधानको धारा १७ को उपधारा १ (च) ले प्रत्याभूत गरेको पेशा, रोजगार तथा उद्योग, व्यापार र व्यवसाय सञ्चालन गर्ने स्वतन्त्रताको संरक्षण हुनुपर्ने जनाएको छ। त्यस्तै, संविधानको धारा ४४ अनुसार उपभोक्ताको अधिकार संरक्षणप्रति पनि आफूहरू उत्तिकै प्रतिबद्ध रहेको संघले स्पष्ट पारेको छ।

संघले बढी नाफा लिने प्रवृत्तिलाई निरुत्साहित गर्दै गुणस्तरीय वस्तुको उत्पादन तथा बिक्री–वितरण सुनिश्चित गर्न व्यवसायीलाई आग्रह गरेको छ। चाडपर्वलाई लक्षित गर्दै उपभोक्ताको मागअनुसार पर्याप्त वस्तु तथा सेवाको व्यवस्था गर्न, सम्भव भएसम्म छुट उपलब्ध गराउन, गुणस्तरीय सामान बिक्री गर्न तथा कानूनले तोकेको मूल्यभन्दा बढी रकम नलिन पनि संघले व्यवसायीलाई अनुरोध गरेको छ। त्यसैगरी म्याद गुज्रिएका सामानको खरिद–बिक्री नगर्न तथा खरिद र बिक्रीका बिल व्यवस्थित राख्न संघले व्यवसायीलाई सचेत गराएको महासचिव सुदीप प्रधानाङ्गले जानकारी दिए। ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरुङले प्रशासन निजी क्षेत्रलाई हतोत्साहित गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले बजार अनुगमनमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने तथा उपभोक्ता हितसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाए। आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउँदै उपभोक्ताले उचित मूल्यमा गुणस्तरीय वस्तु सहज रूपमा पाउने वातावरण निर्माण गर्नु प्रशासनको प्राथमिकता रहेको उनको भनाइ थियो। अध्यक्ष गौतमको नेतृत्वमा प्रशासन पुगेको प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष दीनेशचन्द्र बास्तोला, उद्योग उपाध्यक्ष सौगात थापा, वाणिज्य उपाध्यक्ष मनोजकुमार श्रेष्ठ, महासचिव सुदीप प्रधानाङ्ग, कोषाध्यक्ष देवेन्सन प्रजू र उपमहासचिव प्रदीपराज राजभण्डारी सहभागी थिए।

कास्कीमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल कास्कीमा आएसंगै बजारमा चार्ड पर्व मात्र लक्षित नभई नियमित र जनगुनासो हेल्लो सरकार लगाययतबाट आएका गुनासोका क्रममा अनुगमन गरिएको छ । कास्कीलाई राम्रो र मानव स्वास्थ्य माथि खेलवाड गर्ने उपर कडा कार्वाही गर्नुपर्ने स्थानियको गुनासोको आधारमा न्यूनतम कार्वाही हुने गरेको भोलिका दिनमा पनि यदि कसैले अवैधानिक र मानव स्वास्थ्य माथि खेलवाड गरे आवश्यक कार्वाही गर्न प्रशासन पछि नपर्ने सहायक प्रजिअ बरालले बताए ।