
दीननाथ बराल,
पोखरा २८, फागुन
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप पुनः ५ बर्ष पछि सञ्चालन हुने भएको छ । कोभिड–१९ महामारी र विभिन्न प्रशासनिक तथा प्राविधिक कारणले विगत पाँच वर्षदेखि संचालन हुन नसकेकोे २१ औं संस्करणको नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिप आगामी चैत ५ गतेदेखि ७ गतेसम्म पोखरामा आयोजना हुने भएको नेपाल हवाई खेलकुद संस्था ना ले पोखराक्लिकलाई जनाएको छ ।
पाँच वर्षपछि आयोजना हुन लागेको प्रतियोगितामा नेपालसहित हालसम्म ८ देशका ८७ जना प्याराग्लाइडिङ पाइलटहरूले अनलाइनमार्फत नाम दर्ता गराएको प्रतियोगिताका संयोजक सुनिल भट्टराईले बताउनु भयो । प्रतियोगितामा भारत, चीन, साउदी अरेबिया, उज्वेकिस्तान, इटली र लेबनानका प्याराग्लाईडिङ पाइलटहरुले सहभागि हुने गरी दर्ता गराएको उहाँले जनाउनु भयो । यसपटक प्रतियोगिता एक्युरेसी (ब्अअगचबअथ) विधामा सञ्चालन गरिने भएको छ ।
प्रतियोगिताको टेकअफ स्थल सराङकोट रहनेछ भने खपौदीमा ल्याण्डिङ गर्ने गरी तयारी र आवश्यक समन्वय गरिएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीले बताउनु भयो । सम्बन्धित निकायबाट अनुमति नपाएमा तोरपानीबाट टेकअफ गरी हर्पन वा भकुण्डे क्षेत्रमा ल्याण्डिङ गर्ने वैकल्पिक योजना पनि बनाइएको उहाँले जनाउनु भयो । प्रतियोगितामा एक्युरेसीतर्फको व्यक्तिगत तथा टिम दुवै विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । व्यक्तिगत तथा टिमतर्फका विजेताले समान १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले १ लाख रुपैयाँ र तेस्रो हुनेले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
सोलो प्याराग्लाईडिङ अनु्मति रोकिएसंगै कोभिड–१९ महामारीका कारण विगत केही वर्षदेखि स्थगित रहेको प्रतियोगिता पुनः सञ्चालन हुन लागेको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिका प्रतियोगिताको प्रबद्र्धृकका रुपमा रहेका छन भने प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा पर्यटन परिषद, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा), नेपाल प्याराग्लाइडिङ पाइलट क्लब लगायतको सहयोग गरेको ना ले जनाएको छ ।
पोखरामा व्यवसायिकरुपमा सञ्चालन भएका ६० भन्दा वढी कम्पनी रहेको र करिव ३ सय ६६ टेण्डम प्यराग्लाइडिङ पाइलट र कबिर एक सय ४० जना जसो सोलो प्याराग्लाईडिङ पाइलटहरु रहेको बताइन्छ । उक्त प्रतियोगिताले पोखराको खेल पर्यटन प्रबद्र्धन हुनुका साथै दशौंं राष्ट्यि खेलकुद प्रतियोगितालाई समेत थप टेवा पुग्ने विश्वास गरिएको छ ।




