
पोखरा ३, असोज,
तेस्रो संस्कणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता २०८३ को इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले सहकार्य गर्ने भएको छ । पोखराको खेलकुद तथा पर्यटन क्षेत्रको महत्वलाई मध्यनजर गर्दै कम्पनीले उक्त प्रतियोगितालाई भव्य रुपमा सफल पार्न यस बर्ष पनि सहकार्य गरेको प्रतियोगिता आयोजकले जनाएको छ ।

प्रतियोगितासँग सहकार्य गर्ने सम्बन्धमा युनाइटेड अजोड इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख गोपालप्रसाद पौडेल र प्रतियोगिता संयोजक दीननाथ बराल बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा प्रदेश प्रमुख पौडेलले प्रतियोगितासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै अघिल्लो वर्षदेखि सुरु भएको सहकार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो । पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा यही असोज २४ गते शनिबार पोखरा–२२ स्थित विश्वशान्ति स्तुपदेखि बिशाल महादेवको मुर्ति(पुम्दीकोट), पोखरा २२ को वडा कार्यालय हुदै कालाबाङ घरेडी बुद्धपार्कसम्म करिब ८ किलोमिटर दूरीमा पर्वतीय दौड प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगितामा खुला, महिला, यू–१६, विदेशी पर्यटक, भेट्रान्स तथा वडास्तरीय गरी विभिन्न ६ विधामा धावकहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका प्रत्येक विधाका विजेतालाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैबीच, प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीका लागि दर्ता फारम खुला गरिएको छ । खेलाडीहरूको नाम दर्ता सुरु भइसकेको प्रतियोगिता आयोजक संस्था पोखरा प्रवर्धन केन्द्रका सचिव सागर सुनारले जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूलाई समयमै आफ्नो नाम दर्ता गराउन आग्रह गर्नुभएको छ । पुम्दी–भुम्दी क्षेत्रको खेल तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगितामा म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स हस्पिटालिटी पार्टनरका रूपमा जोडिएको छ । नेलम्बो नेपाल मेडिकल पार्टनर र पोखरा टेलिभिजन अफिसियल टेलिभिजनका रूपमा रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सफल बनाउन पोखरा महानगरपालिकाले प्रबद्र्धन गरेको छ भने परिचय एड्भर्टाइजिङ, पोखरा महानगरपालिका–२२ वडा युवा परिषद्, स्थानीय क्लब, व्यवसायी तथा विभिन्न सङ्घसंस्थाको सहयोग रहेको आयोजकले जनाएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको अनुमतिमा पोखरा २२ को समन्वयमा उक्त प्रतियोगिता हुन लागेको हो ।

बीमा सेवासँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त निर्जीवन बीमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विगत ३२ वर्षदेखि निर्जीवन बीमाको क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीको प्रधान कार्यालय काठमाडौंको सुन्धारास्थित सिटिसी महलमा रहेको छ । कम्पनीले देशका सातवटै प्रदेशमा प्रदेश कार्यालय स्थापना गरी १०५ भन्दा बढी शाखा, उपशाखा तथा बीमा काउन्टर मार्फत देशभरका ग्राहकलाई बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ । गण्डकी प्रदेशमा कम्पनीको प्रदेश कार्यालय पोखराको न्युरोडमा रहेको छ भने प्रदेशअन्तर्गत शाखा, उपशाखा तथा बीमा काउन्टर गरी १४ वटा कार्यालय सञ्चालनमा रहेका छन् ।
बीमा सेवा विस्तारसँगै युनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक तथा मानवीय कार्यमा समेत योगदान गर्दै आएको छ । पछिल्लो समय भाद्र १० गते रसुवामा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख ७० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ । उक्त सहयोग रकममध्ये कम्पनीका कर्मचारीहरूको एक दिनको पारिश्रमिकबाट ६ लाख ७० हजार रुपैयाँ र कम्पनीको तर्फबाट २५ लाख रुपैयाँ रहेको छ । विपद्का समयमा प्रभावित नागरिक तथा समुदायलाई सहयोग गर्ने उद्देश्यले गरिएको उक्त योगदानले कम्पनीको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप स्पष्ट गरेको कम्पनीले जनाएको छ । युनाइटेड अजोड इन्स्योरेन्सले बीमा सेवासँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत आफ्नो योगदानलाई आगामी दिनमा निरन्तरता दिने जनाएको छ ।





