गोगन मा.वि.मा २३ लाख ५२ हजार रुपैयाँ बोलकबोल रकम हस्तान्तरण

-


     पोखरा क्लिक     
     भाद्र १० गते २०८३ मा प्रकाशित


पोखरा, १० भदौ,

पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यलायमा पूर्व बोलकबोल भएको रकम २३ लाख ५२ हजार ४०० रुपैयाँ एक समारोहका बीच आज हस्तान्तरण गरिएको छ । विद्यालयमा २०६६ फागुन १५ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको महायज्ञका क्रममा शिक्षासेवी स्व.भक्तबहादुर बस्नेतले बोलकबोल गर्नुभएको २५ लाख ५५ हजार ५५५ रुपैयाँ बोलकबोल रकम मध्ये बाँकी २३ लाख ५२ हजार ४०० रुपैयाँ उहाँका परिवारजनले आज विद्यालयमा हस्तान्तरण गर्नुभएको हो ।

स्व.भक्तबहादुर बस्नेतका परिवारजनका तर्फबाट उहाँकी धर्मपत्नी चिनुमाया बस्नेतले सहित छोरा, बुहारीहरूको संयुक्त उपस्थितिमा विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो । विद्यालयका प्रधानाध्यापक न्यौपानेको अध्यक्षता एवम् पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक चन्द्रमाया थापाले गर्नुभएको थियो भने स्वागत पूर्व प्रधानाध्यापक डम्बरप्रसाद पौडेलले गर्नुभएको थियो ।

कार्यक्रममा परिवारजनका तर्फबाट कृष्ण बस्नेतले आफ्नो परिवार सदैव विद्यालयको सहयोगका लागि तत्पर रहेको बताउनुभयो । उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू प्रकाशचन्द्र पागल, शंकरबहादुर केसी, खेमराज अधिकारी, खड्गबहादुर बस्नेत, पूर्व जिल्ला शिक्षा अधिकारी एवम् वडा शिक्षा अनुगमन समितिका संयोजक नगेन्द्रप्रसाद रेग्मी, शिक्षासेवी गणेशबहादुर खत्री लगायतले बोल्नुभएको थियो । कार्यक्रममा शिक्षासेवी एवम् सहयोगदाता स्व.भक्तबहादुर बस्नेतकोे शैक्षिक एवम् सामाजिक योगदानको स्मरण गरिएको थियो ।
स्व. बस्नेत विद्यालयको स्थापनाकालमा २०२५ भदौ १६ गतेदेखि २०३१ असोज २१ ग्ते सम्म विद्यालय सञ्चालन सहयोग समितिको सचिवका साथै २०३१ असोज २१ गतेदेखि २०५४ भदौ २५ गतेसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको कार्यक्रममा जानकारी गराइयो । त्यस पश्चात उहाँले विद्यालयको मानार्थ अध्यक्ष एवम् सम्मानित सल्लाहकारको पदमा रहेर समेत महत्वपूर्ण योगदान गर्नुभएको विद्यालयले जनाएको छ । कार्यक्रममा नै परिवारजनका तर्फबाट विद्यालय परिसरमा स्व.भक्तबहादुर बस्नेतको सालिक स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।