
दीननाथ बराल,
पोखरा १८, असार
पर्यटकीय नगरी पोखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ को बिक्रि वितरण सुरु भएको छ । क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टले उक्त ब्राण्डको स्कुटर नेपाल भित्राएको हो भने पोखरामा नयाँबजारस्थित क्रसफायर सो रुमले पोखरा क्षेत्रको लागि बिक्रि वितरण गर्न सुरु गरेको हो ।
उक्त स्कुटरमा ४ हजार वाटको पिक पावर भएको मोटर जडान गरिएको छ भने १८ डिग्री भन्दा बढीको उकालोमा उक्लिन सक्ने तथा सिंगल चार्जमा ३५० किलोमिटर रेन्ज दिने क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टका निर्देशक रेविका बुढाथोकीले बताउनु भयो । उक्त स्कुटरमा एलईडी डिस्प्ले, म्याट्रिक्स एलईडी हेडलाइट, भिजिबल ब्याकलाइट जस्ता फिचर छन्, जसले सेफ्टी र स्टाइललाई बढाएका छन् ।
आधुनिक प्रविधिबाट बजारमा आएको स्कुटर एक पटक चार्ज गरिसकेपछि ३५० किमीसम्म गुड्न सक्ने बताउदै बुढाथोकीले ३ लाख ६५ हजारमा उक्त स्कुटर बिक्रि वितरण भएको जनाउनु भयो । हाल उद्घाटनको अवसरमा १० हजार छुट उपलब्ध गराएको कम्पनीले जनाएको छ । कम्पनीले पोखरा सहित काठमाडौं महाराजगञ्ज, बागलुङ, वीरगञ्ज, दाङ र धनगढीमा डिलर रहेका छन् ।
कम्पनीका मार्केटिङ म्यानेजर अनुराग बामले ड्राइभिङमा ६० प्रतिकिमी र स्पोर्टस् मोडमा ६८ प्रतिकिमीसम्म गुड्न सक्ने दाबी गर्नुभयो । परीक्षणका क्रममा आफू पोखरादेखि चितवन सजिलै गएर फर्किएको अनुभव उहाँले सुनाउनु भयो । यसको ब्याट्रीमा ५ वर्षसम्म वारेन्टी दिइएको भए पनि कम्तीमा १० वर्षसम्म टिकाउ हुने उहाँले जनाउनु भयो । एक पल्ट चार्ज गर्दा ६ देखि ८ घण्टासम्म समय लाग्ने कम्पनीले जनाएको छ । यसैबिच, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले उक्त स्कुटर मंगलबार एक समारोहका बिच सार्वजनिक गर्नु भएको हो ।