शुभ अधिकारी ट्राभल्सले ल्यायो थप लक्जरियस बस, पोखरा–काठमाडौं रुटमा दिवा तथा रात्रि सेवा भदौं ३ गते संचालन हुने

-


     पोखरा क्लिक     
     श्रावण ३० गते २०८३ मा प्रकाशित


पोखरा,

पर्यटकीय राजधानी पोखराबाट काठमाडौं आवतजावत गर्ने यात्रुलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल्स एन्ड टुर प्रा.लि.ले अत्याधुनिक सुविधासहितका लक्जरियस बस सञ्चालनमा ल्याउने भएको छ। करिब ६ करोड रुपैयाँ लगानीमा ल्याइएका नयाँ बसमार्फत कम्पनीले आगामी भदौ ३ गतेदेखि पोखरा–काठमाडौं रुटमा दिवा तथा रात्रिकालीन सेवा सुरु गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।

पोखरामा आयोजित एक कार्यक्रमबीच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले नयाँ बस सेवाको औपचारिक शुभारम्भ गर्नुभयो। लामो समयदेखि यातायात क्षेत्रमा सेवा दिँदै आएको शुभ अधिकारी ट्राभल्सले यात्रुको बदलिँदो आवश्यकता र पर्यटन क्षेत्रको मागलाई ध्यानमा राख्दै सेवा विस्तार गरेको जनाएको छ। कम्पनीका अध्यक्ष टीकाराम अधिकारीका अनुसार पहिलो चरणमा चारवटा सुविधा सम्पन्न बस सञ्चालनमा ल्याइनेछ। प्रत्येक बसमा यात्रुको आराम र सुविधालाई प्राथमिकता दिइएको छ। बसभित्रै वासरुम, पूर्ण वातानुकूलित प्रणाली, अल–ह्विल सस्पेन्सन, आरामदायी सिट, चिया, कफी तथा ब्रेकफास्टको सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ । अधिकारीले यात्रुलाई आफूहरूले प्रतिबद्धता गरेअनुसारकै सेवा उपलब्ध गराउने बताउनुभयो।

“हामीले यात्रुहरूलाई जुन स्तरको सुविधाको आश्वासन दिएका छौँ, सेवा सुरु भएपछि उहाँहरूले ती सबै सुविधाको प्रत्यक्ष अनुभव गर्न पाउनुहुनेछ,” उहाँले भन्नुभयो। कम्पनीका अनुसार पोखरा महानगरपालिका–२५ हेम्जा मिलनटोलबाट बिहान ६ बजे बस छुट्नेछ। जिरोकिलोमिटर, सिर्जनाचोक हुँदै पर्यटक बसपार्कबाट काठमाडौंका लागि सेवा सञ्चालन हुनेछ। काठमाडौंको साँखुबाट पनि पोखरातर्फ बिहान ७ बजे बस छुट्ने व्यवस्था गरिएको छ। पोखराबाट काठमाडौं जाने बसहरू गोङ्गबु, चाबहिल, बौद्ध, जोरपाटी, नारायणटार हुँदै साँखुसम्म सञ्चालन हुनेछन्। यसले पोखरा–काठमाडौं यात्रा गर्ने यात्रुसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आवतजावत गर्ने यात्रुलाई समेत सहज हुने कम्पनीको विश्वास छ। नयाँ बसमा सामान्य सिटका लागि १ हजार ७ सय रुपैयाँ र भीआईपी स्लिपर बेडका लागि २ हजार रुपैयाँ भाडा निर्धारण गरिएको सञ्चालक सागर अधिकारीले जानकारी दिनुभयो। उक्त भाडामा पानी, चिया, कफी तथा ब्रेकफास्टसमेत समावेश गरिएको छ।

यात्रुलाई थप व्यावसायिक र स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले बसका चालकलाई ‘पाइलट’ र सहचालकलाई ‘एयर होस्टेस’को पोसाकमा परिचालन गरिने भएको छ। कम्पनीले पोसाकसँगै यात्रुसँगको व्यवहारमा समेत उच्च व्यावसायिकता, नम्रता र आतिथ्य कायम गर्ने जनाएको छ।सेवा शुभारम्भ गर्दै महासङ्घका अध्यक्ष सिटौलाले पोखराबाट काठमाडौंका लागि सुरु भएको नयाँ सेवा नेपालमा मात्र नभई एसियाकै उत्कृष्ट पर्यटकीय यातायात सेवामध्ये पर्न सक्ने दाबी गर्नुभयो। उहाँले पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकसित भइरहेको पोखरामा गुणस्तरीय यातायात सेवाको विस्तारले पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्‍याउने बताउनुभयो। यातायात क्षेत्रलाई अब प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै सिटौलाले जीपीएस प्रणाली, क्यासलेस भुक्तानी र अनलाइन टिकटिङलाई प्राथमिकतामा राखिएको बताउनुभयो। यात्रुले घरमै बसेर टिकट काट्न सक्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ। “अबको यातायात सेवा प्रविधिमैत्री हुनुपर्छ। यात्रुले घरमै बसेर टिकट लिन सक्ने व्यवस्था आवश्यक छ,” उहाँले भन्नुभयो।

सिटौलाले यातायात क्षेत्रमा कार्यरत चालक तथा सहचालकको सुरक्षाको विषयलाई समेत गम्भीर रूपमा लिन सरकारसँग आग्रह गर्नुभयो। दुर्घटना वा अन्य विवादका क्रममा चालक तथा कर्मचारीमाथि हुने भौतिक आक्रमण तथा दुर्व्यवहार रोक्न उनीहरूलाई कानुनी संरक्षणको आवश्यकता रहेको उहाँको भनाइ थियो। शुभ अधिकारी ट्राभल्सले ‘नयाँ यात्राको शुभारम्भसँगै सुरक्षित, सहज एवम् उत्कृष्ट यात्रा’ तथा ‘मीठो बोली, नम्र व्यवहार, यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ सेवा सञ्चालन गर्न लागेको हो। वि.सं.२०५५ सालदेखि निरन्तर यातायात सेवा प्रदान गर्दै आएको कम्पनीले नयाँ सुविधासम्पन्न बसमार्फत पोखरा–काठमाडौं यात्रालाई थप आरामदायी, सुरक्षित र स्तरीय बनाउने लक्ष्य लिएको जनाएको छ। पोखराको पर्यटन गतिविधि विस्तार भइरहेका बेला निजी क्षेत्रबाट थपिएको यस्तो सुविधासम्पन्न यातायात सेवाले पर्यटक तथा स्वदेशी यात्रुको यात्रा अनुभवमा समेत नयाँपन ल्याउने कम्पनीले अपेक्षा गरेको छ ।