
पोखरा, साउन २६,
इन्जिनियरिङ तर्फ स्नातक तह अध्ययनका लागि विभिन्न विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्कृष्ट रिजल्ट ल्याउन सफल भएका विद्यार्थीलाई यहाँस्थित प्रतिभा माविले मंगलबार सम्मान गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान, पोखरा विश्वविद्यालय र गण्डकी विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्कृष्ट परिणाम ल्याउन सफल विद्यार्थीको सम्मानमा विद्यालयले मंगलबार कार्यक्रम राखेको थियो । कार्यक्रममा विद्यार्थी सहित उनीहरुका अभिभावकलाई पनि सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रमको विद्यालय संचालन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा विद्यालयका निर्देशक राकेश जोशीले विद्यार्थीको यो सफलतामा सबैभन्दा बढी योगदान विद्यार्थीकै रहेको र त्यसमा अरुले साथ दिएको बताए । ‘विद्यार्थी आफ्नै मेहनत बिना परिणाम राम्रो आउँदैन, विद्यार्थीकै मेहनतमा विद्यालय, शिक्षक र अभिभावकको पहल पनि थपिन्छ,’ जोशीले भने, ‘यो रिजल्टले आगामि वर्षमा अरु विद्यार्थीलाई पनि सफलतामा डो¥याउन सघाउनेछ ।’ प्रतिभा माविका प्राचार्य किरण सापकोटाले विद्यार्थीले आफ्नो मेहनत, समर्पण र दृढ संकल्पका साथ लागेकोले यो परिणाम प्राप्त गर्न सफल भएको बताए । ‘विद्यार्थीको यो उपलब्धि केवल विभिन्न विधा र श्रेणीमा राम्रो स्थान हासिल गरेको परिणाम मात्र होइन । यो त अथक मेहनत, निरन्तर प्रयास, अनुशासन, अनगिन्ती घण्टाको अध्ययन र आफ्नो लक्ष्यप्रतिको प्रतिबद्धताको परिणाम पनि हो,’ उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा, विभिन्न चुनौतीका बाबजुद पनि निरन्तर अगाडि बढिरहने विद्यार्थीको साहसले यो सफलता सम्भव भएको हो ।’
इन्जिनियरिङ अध्ययन संस्थानको यो प्रवेश परीक्षा अत्यन्तै प्रतिस्पर्धात्मक हुने र त्यसमा उत्कृष्ट स्थान हासिल गर्नु र छात्रवृत्ति प्राप्त गर्नु आफैँमा निकै ठूलो उपलब्धि रहेको उनले बताए । उनका अनुसार प्रतिभाका ५२ जना विद्यार्थीले संस्थानको प्रवेश परीक्षा उत्तीर्ण गरेका थिए । तीमध्ये २२ जना विद्यार्थीले उत्कृष्ट उपलब्धि हासिल गरेर छात्रवृत्ति पाउने उनले बताए । ‘विद्यार्थीको यो सफलता उनीहरूको मेहनत र समर्पणको परिणाम हो । आगामी दिनमा पनि उनीहरूले अझ ठूलो सफलता हासिल गर्दै विद्यालय, परिवार र राष्ट्रको नाम उच्च राख्नेछन्,’ सापकोटाले भने ।
प्रवेश परीक्षामा उत्कृष्ट रिजल्ट ल्याउन सफल विद्यार्थी र उनीहरुका अभिभावकले सबैको मेहनतको कारण यो सफलता पाएको बताए । पढाईमा लगाव हुने र निरन्तर अध्ययन गर्ने हो भने अध्ययनमा सफलता मिल्ने उनीहरुले बताए ।
विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले पनि सबैको मेहनतको कारण यो सफलता हात परेको बताए । ‘बिना मेहनत सफलता हात पर्दैन । अध्ययनका क्रममा आइपर्ने सबैखालका चुनौतीलाई लिएर अघि बढ्नु पर्छ,’ उनले भने, ‘आगामि दिनमा पनि अझ बढि चूनौती आइपर्नेछन । ती चुनौतीसँग जुधेर अघि बढ्नुपर्छ, त्यसले हरेक पाइलामा सफलता दिलाउनेछ ।’




