पाहुना टोली भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा चारै खेलमा पराजित

-


     पोखरा क्लिक     
     असाेज १६ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, १६ असोज,

नेपाल भ्रमणमा रहेको भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा खेलेका चारवटै अभ्यास खेलमा पराजित भएको छ । नेपाल भ्रमणअन्तर्गत शुक्रबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सम्पन्न अन्तिम अभ्यास खेलमा क्यान–११ ले भुटानलाई १०४ रनले पराजित गरेसँगै भुटानको भ्रमण चार खेलमा पराजित भएसंगै टुंगिएको छ ।

१७७ रनको लक्ष्य पछ्याएको भुटानको टोली १७.३ ओभरमा ७२ रनमै समेटियो । भुटानका लागि सोनाम चोपेल र आनन्द मोंगरले समान १५ रनको योगदान दिए । क्यान–११ का बिपिन शर्माले उत्कृष्ट बलिङ गर्नुभयो । उहाँले ५ विकेट लिदा आकाश चन्दले २ तथा राशिद खान, प्रकाश जैसी र बिपिन खत्रीले समान १–१ विकेट लिनु भयो । खेलमा बिपिन शर्मा म्यान अफ द म्याच घोषित हुनु भयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यान–११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रनको बलियो योगफल तयार पार्न सफल भयो । क्यान–११ का लागि त्रित राज दासले आक्रामक अर्धशतक प्रहार गर्नूभयो । उहाँले ३१ बलमा ४ चौका र ३ छक्कासहित ५१ रन बनाउन सफल हुनुभयो ।

कप्तान बिपिन खत्री ३८ रनमा अविजित रहदा मयंक यादवले २६, राशिद खानले २४ तथा सिब्रिन श्रेष्ठले १९ रनको योगदान दिनुभयो । भुटानका आनन्द मोंगरले ३, गकुल कुमार घलेले २, सोनाम येशे र नामगे थिन्लेले समान १–१ विकेट लिनुभयो । नेपालमा पहिलो पटक भ्रमण गरेको भुटानले घरेलु टोली गण्डकीसँग खेलेका दुवै अभ्यास खेलमा पराजित भएको थियो । मलेसियामा आयोजना हुने विश्वकप सब–क्वालिफायर ‘ए’ को तयारीका लागि भुटानको टोली नेपाल आएको हो । पोखरामा लगातार भएको ४ खेलले पोखरामा क्रिकेटको महत्व झन बढेको गण्डकी प्रादेशिक क्रिकेट संघ का अध्यक्ष संजयकान्त सिग्देलले बताउनु भयो ।