
पोखरा,
पोखराका उद्यमी किरण केसीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टीको नीति, विधान र पछिल्लो राजनीतिक परिवेशअनुसार आफू उम्मेदवार बन्न लागेको उनले बताएका छन्। नेपाली कांग्रेसले खुला अर्थतन्त्र, निजी क्षेत्रसँगको सहकार्य, लगानीमैत्री तथा अनुमानयोग्य व्यावसायिक वातावरण र स्वदेशमै रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर आर्थिक नीतिबारे बहस अघि बढाइरहेको छ।
पार्टीले उद्यम तथा व्यवसायमा दक्षता हासिल गरेका सक्षम युवालाई पार्टी संरचना र निर्वाचनमा निश्चित प्रतिशत अवसर दिने नीति अघि सारेको अवस्थामा केसीले केन्द्रीय सदस्यमा दाबी गरेका हुन्। जलविद्युत्, वित्तीय सेवा तथा पूर्वाधार निर्माण क्षेत्रमा लामो अनुभव भएका केसीले निजी क्षेत्रको अनुभवलाई राजनीतिक नीतिनिर्माणसँग जोड्न आफ्नो उम्मेदवारी केन्द्रित रहेको बताएका छन्। ‘मैले निजी क्षेत्रमा रहेर रोजगारी सिर्जना, लगानी विस्तार र अर्थतन्त्रका चुनौतीलाई नजिकबाट भोगेको छु,’ उनले भने, ‘पार्टीले निजी क्षेत्र र राजनीतिलाई नजिक्याउने प्रयास गरेको छ। उद्यमशीलतालाई नीतिगत प्राथमिकतामा ल्याउन र राजनीतिलाई मुलुकको समृद्धिसँग जोड्नका लागि मेरो उम्मेदवारी हो।’
केसीले उद्योग–व्यवसायलाई अनावश्यक रूपमा अपराधीकरण गर्ने कानुनी व्यवस्थाको पुनरावलोकन तथा झन्झटरहित व्यावसायिक वातावरण निर्माणका लागि पार्टीभित्र आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पोखराका केसी प्रतिष्ठित उद्योगी तथा पूर्वसांसद स्वर्गीय सूर्यबहादुर केसीका छोरा हुन्। बाबुको व्यावसायिक विरासतलाई निरन्तरता दिँदै आएका उनले लन्डनको बोस्टन कलेजबाट व्यवसाय प्रशासनमा स्नातक तथा भारतको क्यालोर्स टिचर्स युनिभर्सिटीबाट स्नातकोत्तर गरेका छन्। हाल केसी ग्रुप अफ कम्पनीजका निर्देशक रहेका उनी विशेषगरी ऊर्जा र वित्तीय क्षेत्रमा सक्रिय छन्। केसी सिक्लेस हाइड्रोपावर र भगवती हाइड्रोपावरका अध्यक्ष हुन्। उनी युनाइटेड इदी मर्दी, गण्डकी हाइड्रोपावर, झोमोलुङ्मा, अपर सेती, आम्पिक इनर्जी, माथिल्लो मर्स्याङ्दी लगायतका विभिन्न जलविद्युत् आयोजनामा सञ्चालकका रूपमा संलग्न छन्।
माछापुच्छ्रे बैंकका संस्थापक स्वर्गीय सूर्यबहादुर केसीका छोरा किरण केसी सन नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक तथा माछापुच्छ्रे बैंक र युनाइटेड अजोड इन्स्योरेन्सका संस्थापकसमेत हुन्।त्यसैगरी, उनी नेपालको ‘क’ वर्गको निर्माण कम्पनी केसी कन्स्ट्रक्सनसँगै पोखरास्थित कालिका बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षका रूपमा पनि सक्रिय छन्। हस्पिटालिटी तथा हाउजिङ क्षेत्रमा समेत उनको लगानी र संलग्नता रहेको छ। राजनीतिलाई उत्पादन, रोजगारी, लगानी सुरक्षा र आर्थिक विकासको संवाहक बनाउने एजेन्डासहित आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको केसीले बताएका छन्। ‘नेपाली कांग्रेससँग लामो राजनीतिक विरासत र योगदान बोकेका नेता–कार्यकर्ताको अनुभव पार्टीको अमूल्य सम्पत्ति हो,’ उनले भने, ‘त्यसमा नयाँ पुस्ताको ऊर्जा, सिर्जनशीलता, प्रविधिमैत्री सोच र बदलिँदो आर्थिक–सामाजिक परिवेश बुझ्ने क्षमता पनि पार्टी निर्माणमा उत्तिकै आवश्यक छ।’ अनुभव र नयाँ ऊर्जाबीचको सार्थक समन्वयबाट कांग्रेसलाई समयअनुकूल बनाउँदै अघि बढाउनुपर्ने उनको भनाइ छ।







