
पोखरा, २० असोज,
तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता–२०८३ अवसरमा राज गुरुङ ‘लाला’ र अर्जुन गोदारलाई सम्मान गरिने भएको छ । ‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथ पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकले विश्व पर्यटन दिवस सन्दर्भ पारेर यही असोज २४ गते शनिबार आयोजना गर्ने प्रतियोगितामा सम्मान गरिने भएको हो ।

पुम्दीभुम्दीको पर्यटन प्रवद्र्धन तथा स्थानीय क्षेत्रको विकासमा योगदान दिने एक जना र खेलकुद क्षेत्रमा योगदान दिने एक जना गरी आयोजकले पहिलो संस्करणदेखि सम्मान गर्दै आएको प्रतियोगिता संयोजक दीननाथ बरालले बताए । पुम्दीभुम्दीको पर्यटन प्रवद्र्धन तथा स्थानीय क्षेत्रको विकासमा सक्रिय योगदान पु¥याउँदै आएका राज गुरुङ ‘लाला’लाई आफ्नो जन्मभूमिको पर्यटन विकास, सामाजिक सेवा तथा स्थानीय क्षेत्रको पहिचान प्रवद्र्धनमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै यसपालि सम्मान गर्न लागिएको बरालले जानकारी दिए ।

गुरुङ कालाबाङ घरेडी बुद्ध पार्कका परिकल्पनाकार तथा कालाबाङ घरेडी बुद्ध पार्क विकास संस्थाका संस्थापक अध्यक्ष समेत हुन् । पर्यटन व्यवसायसँगै रियलस्टेट तथा सामाजिक क्षेत्रमा सक्रिय उनले जन्मभूमिको विकास र प्रवद्र्धनमा निरन्तर काम गर्दै आएका छन् । २०३९ सालमा कालाबाङ घरेडी डहरमुनिमा जन्मिएका गुरुङ स्यामसङ ग्यालोरिका प्रबन्ध निर्देशक पनि हुन् । व्यवसायसँगै सामाजिक सेवामा समेत सक्रिय उनले असहाय तथा विपन्न वर्गका व्यक्तिहरूलाई सहयोग गर्दै आएका छन् । उनी व्यवसाय, पर्यटन, खेलकुद तथा सामाजिक सेवामार्फत स्थानीय क्षेत्रमा सक्रिय व्यक्तिका रूपमा परिचित छन् । बाबु भूपेन्द्र राज गुरुङ र आमा नाना गुरुङका लाला कान्छा छोरा हुन् ।

यसअघि, विश्वशान्ति स्तूप समिति अध्यक्ष अशोक गुरुङ र पुम्दीकोट कोट विकास समितिका अध्यक्ष तथा उद्योगपति चन्द्रकान्त बरालसमेत सम्मानित भइसकेका छन् । यसैगरी, सम्मानित हुने अर्का व्यक्तित्व अर्जुन गोदार कास्कीको रुपा गाउँपालिकाका हुन् । विभिन्न अल्ट्रा म्याराथन तथा अन्तर्राष्ट्रिय दौडमा सहभागी हुनुका साथै पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री र काठमाडौं–पोखरा अल्ट्रा म्याराथनसमेत पूरा गरेका उनको खेलप्रतिको लगाव र निरन्तरतालाई सम्मान गर्न लागिएको हो । उनले २०५४ सालमा नेपाली सेनामा प्रवेशपछि १६ वर्षमै अवकाश लिएका थिए । १२ वर्षअघि यूएई पुगेका उनी सन् २०१५ को सुरुवातदेखि विभिन्न अन्तर्राष्ट्रिय दौड तथा म्याराथन प्रतियोगितामा सहभागी हुँदै आएका छन् । गोदारले हालसम्म म्याराथन, हाफ म्याराथन तथा १० किमी गरी विभिन्न दूरीका करिब ४२ अन्तर्राष्ट्रिय म्याराथन पूरा गरिसकेका छन् । २१ किमी दूरीका प्रतियोगितामा मात्रै उनले तीनपल्ट प्रथम स्थान हासिल गरेका छन् ।

यूएईमा रहँदा उनले ५० देखि ६० किलोमिटर दूरीका अल्ट्रा म्याराथनसमेत पूरा गरिसकेका छन् । पोखरामा आयोजित अन्तर्राष्ट्रिय क्रसकन्ट्री २० किलोमिटर तथा काठमाडौं–पोखरा २०० किलोमिटर अल्ट्रा म्याराथनमा समेत सहभागिता जनाएका छन् । बुबा स्व.मोहन बहादुर गोदारको सम्झना र आमा गुनिमया गोदारको संघर्षलाई आफ्नो प्रेरणा बनाएका गोदारको लक्ष्य बुबाआमाको सपना पूरा गर्दै दौडमार्फत आफ्नो ठाउँ र देशलाई चिनाउनु हो। गोदार एथलेटिक्स संघ कास्कीका आजीवन सदस्य एवं कास्की आदर्श समाज यूएईसँग पनि आबद्ध छन् ।

यसअघि, उक्त सम्मानबाट हिमाल आरोही तथा साहसिक पर्यटन क्षेत्रका व्यक्तित्व हे.लि. कुसाङ गुरुङ र वसन्त गौतमलाई सम्मान गरिएको केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए । प्रसिद्ध विश्वशान्ति स्तूपबाट सुरु भई कालाबाङ घरेडी बुद्ध पार्क पुगेर समापन हुने ८ किमी दूरीको दौड प्रतियोगिता विभिन्न ६ इभेन्ट समावेश छन् ।







