पोखराका निजी अस्पतालले स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन अनुसारको स्टाफ नर्सको न्यूनतम पारिश्रमिक लागु गर्न नसक्ने (भिडियो सहित),मणिपाल र जिएमसीमा स्टाफ नर्सको आन्दोलन जारी, अस्पतालको सेवा प्रभावित

-


     पोखरा क्लिक     
     असाेज २९ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २९ असोज,

पोखरामा नेपाल मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज (जिएमसी) अस्पतालमा कार्यरत स्टाफ नर्सहरु तलव बृद्धिको माग गर्दै आन्दोलनमा उत्र्रिएकाछन् । मणिपालले १९ हजार ५ सय तलवबाट बृद्धि गरी २४ हजार देखि २९ हजारसम्म दिने सहमती जनाए पनि सबै कर्मचारीले नमाने पछि आन्दोलन जारी रहेको छ भने जिएमसीमा भने वार्ता बस्ने बिषयमा नेतृत्वको अभावमा अस्पताल प्रशासनसंग वार्ताको कुनै पहल भएको छैन् ।

यद्यपी आन्दोलन जारी रहदा दुबै अस्पतालको सेवा भने प्रभावित भएको छ । पोखराका निजी अस्पतालहरूले स्वास्थ्य मन्त्रालयले तोकेको पारिश्रमिक लागू गर्न नसक्ने एकै स्वरमा भनेका छन् । नीजि अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) गण्डकीले बुधबार पत्रकार सम्मेलन गर्र्दै सरकारले तोकेको दर अनुसार तलब दिने तर स्वास्थ्य मन्त्रालयले तोकेको पारिश्रमिक भने दिन नसक्ने जनाएको हो । आफुहरु श्रम ऐन अनुसार न्यूनतम पारिश्रमिक अधिकांशले लागु गरेको दाबी गर्दै अफिन गण्डकीका अध्यक्ष कपिल पोखरेलले स्वास्थ्य मन्त्रालयले तोकेको श्रम ऐन अहिलेको अबस्थामा उक्त रकम दिन नसक्ने बताउनु भयो । आफुहरुले श्रम ऐन अन्र्तगत न्यूनतम पारिश्रमिक १९ हजार ५ सय नघट्ने गरी दिएको बताउदै उहाँले स्वास्थ्य मन्त्रालयले तोकेको ३४ हजार ५ सय रुपैया मासिक तलव स्टार्फ नर्सहरुलानई दिन नसक्ने अबस्थामा रहेको दाबी गर्नुभयो ।

सरकारी स्थायी कर्मचारी सरह पारिश्रमिक दिनुपर्ने कानुनी व्यवस्था नभएकाले त्यसैअनुसार हुनुपर्छ भन्नु गलत भएकोे अध्यक्ष पोखरेलले स्पष्ट पार्नुभयो । हाल नेपाल मणिपाल टिचिङ हस्पिटल र जिएमसी अस्पतालमा कार्यरत नर्सहरूले पारिश्रमिक वृद्धि माग गर्दै आन्दोलन गरि रहनु भएको छ । नीजि स्वास्थ्य मन्त्रालयले पाँचौं तहका स्वास्थ्यकर्मीका लागि तोकेको मासिक ३४ हजार ५ सय रुपैयाँ पारिश्रमिक पाउनुपर्ने स्टार्फ नर्सहरुले माग गर्नु भएको छ । तर जिएमसीका प्रिन्सिपल डा. रविन्द्र श्रेष्ठले भने सरकारले तोकेको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय रुपैयाँ अस्पतालले दिइरहेको दाबी गर्नुभयो । हाल अस्पतालको ओपीडी सेवा र गम्भीर प्रकृतिको उपचार सेवा भने जारी रहेको उहाँले बताउनु भयो ।

त्यस्तै, मणिपाल शिक्षण अस्पतालका नर्सहरूले पनि पारिश्रमिक वृद्धि माग गर्दै केही दिनदेखि काम बहिष्कार गरिरहेका छन्। मणिपालले २४ हजारदेखि २९ हजार रुपैयाँसम्म तलब बृद्धि गर्ने सहमती भए पनि अन्ततः नर्सहरु सबैले नमाने पछि अबस्था अन्यौल भएको अस्पतालका निर्देशक डा. अविशेक मास्केले बताउनु भयो । मंगलबार एक सहमती गर्ने गरी केही स्टार्फ नर्सहरु राजि भए पनि बुधबार उक्त निर्णयबाट पछि हटेको अस्पताल श्रोतले जनाएको छ । अस्पतालमा दृर्घ रोगी, आकस्मिक, ओपीडी बाहेक अन्य सेवा प्रभावित भएको डा.मास्केले उल्लेख गर्नुभयो ।

अफिन गण्डकीले प्रेस विज्ञप्ति मार्फत आन्दोलनरत कर्मचारीहरूलाई सहमति र सहकार्यका माध्यमबाट समस्या समाधान गर्दै काममा फर्किन र व्यवस्थापन पक्षलाई पनि सहजीकरण गर्न आग्रह गरेको छ । स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको लागि न्यूनतम पारिश्रमिकको व्यवस्था कायम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै स्वास्थ्य प्रतिष्ठान, सरकारी अस्पताल ,मेडिकल कलेज, सामुदायिक तथा निजी अस्पताललाई पत्राचार गर्दै न्यूनतम पारिश्रमिक लगायतका सुविधा उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयको परिपत्रमा भनिएको छ, ‘मेडिकल कलेज तथा स्वास्थ्य संस्थाबाट नर्सिङ् एवं अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक लगायतको सुविधामा अन्याय भएको भनि गुनासो आएको सो सम्बन्धमा स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागू गर्न यही मङ्सिर २७ गते सचिवस्तरीय निर्णय भएको हो ।

तोकिएको समय भन्दा बढी कार्यको लागि अतिरिक्त भत्ताको व्यवस्था गर्न, स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ती सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाइने, सक्कल शैक्षिक लब्धांक पत्रमा कार्यलयले राख्न नपाइने र अनुभवको पत्र प्रदान गर्नुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।