पोखरामा कार्बन न्यूट्रालिटी र दीगो पर्यटन प्रवद्र्धनका लागि नेपाल–चीन बिच सहकार्य

-


     पोखरा क्लिक     
     वैशाख १३ गते २०८३ मा प्रकाशित


पोखरा,

कार्बन उत्सर्जन घटाउँदै दीगो पर्यटन विकास गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद् (पिटिसी) र चीनको सांक्षी कार्बन न्यूट्रालिटी प्रविधि विकास संघबीच सहकार्यको समझदारी भएको छ । आज (आइतबार) सम्पन्न सम्झौताले जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीसँग जुध्न र हरित विकासलाई प्रवद्र्धन गर्न दुई संस्थाबीच संयुक्त पहललाई औपचारिकता दिएको हो ।

सम्झौतापत्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी र चिनियाँ संस्थाका प्रतिनिधि वु चाओले हस्ताक्षर गर्नुभयो। उक्त सहकार्यअन्तर्गत पोखरामा कार्बन न्यूट्रालिटी सम्बन्धी नीति अनुसन्धान, हरित वित्त प्रवद्र्धन, कार्बन सम्पत्ति व्यवस्थापन तथा न्यून कार्बन प्रविधिको विस्तारमा संयुक्त रूपमा काम गरिने भएको उल्लेख गरिएको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रसहित समग्र वातावरणमा चुनौती थपिँदै गएको सन्दर्भमा सहकार्य आवश्यक भएको अध्यक्ष पहारीले जनाउनु भयो । “कार्बन न्यूट्रालिटी र हरित विकासमा चीनको अनुभवलाई पोखराको स्थानीय सन्दर्भसँग जोडेर लागू गर्न यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्नेछ,” उहाँले बताउनुभयो।

सम्झौतामा पोखराको पर्यटन उद्योगलाई हरित तथा न्यून कार्बन होटल र रेष्टुरेन्टका रूपमा विकास गर्ने, पर्यटन स्थल तथा यातायात प्रणालीलाई वातावरणमैत्री बनाउने तथा स्वच्छ ऊर्जा, फोहोर व्यवस्थापन र ऊर्जा दक्ष भवनजस्ता प्रविधि भित्र्याउने विषय समेटिएको छ । यसले वातावरणीय चुनौती न्यूनीकरणसँगै नयाँ हरित आर्थिक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, न्यून कार्बन कृषि मोडल विकास गरी स्थानीय उत्पादनको हरित प्रमाणीकरण र मूल्य अभिवृद्धिमा सहयोग पु¥याउने लक्ष्य पनि राखिएको छ । यसबाट स्थानीय कृषक र पर्यटनबीचको अन्तरसम्बन्ध सुदृढ हुने विश्वास गरिएको छ ।
परिषद्का सल्लाहकार बासु त्रिपाठीले जलवायु परिवर्तन पोखराको मात्र नभई विश्वव्यापी समस्या बनेको उल्लेख गर्दै यससँग जुध्न सामूहिक प्रयास अपरिहार्य रहेको बताउनुभयो। उहाँले यस सहकार्यले स्थानीय तथा सांस्कृतिक सम्पदाको संरक्षणमा समेत टेवा पुग्ने धारणा राख्नुभयो।

चिनियाँ प्रतिनिधि वु चाओले जलवायु परिवर्तनविरुद्धको लडाइँ कुनै एक देश वा संस्थाले मात्र सम्भव नहुने बताउँदै सहकार्यको महत्त्व औंल्याउनुभयो । “प्रकृतिको संरक्षण वर्तमान मात्र होइन, भावी पुस्ताको दायित्व पनि हो,” उहाँले भन्नुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले उक्त सहकार्यले पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । “यो पहल सफल भए इको–फ्रेन्ड्ली पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण फड्को सावित हुनेछ,” उहाँले बताउनुभयो।

परिषद्का महासचिव जीवनराज सापकोटाले दीगो पर्यटनमा ध्यान नदिइए भविष्यमा गम्भीर समस्या आउन सक्ने चेतावनी दिँदै पोखरामा कार्बन उत्सर्जन न्यून गर्ने उपाय तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । सम्झौतामा हरित सहकार्यलाई आधार बनाउँदै ट्रान्स–हिमालय बहुआयामिक सम्पर्क सञ्जाललाई समर्थन गर्ने तथा व्यावहारिक सहकार्यमार्फत नेपाल–चीनबीच आपसी सम्बन्ध अझ सुदृढ बनाउने विषय पनि समेटिएको छ । सामाजिक अभियान्ता पुष्प तिमिल्सिनाले गण्डकी प्रदेश र चिनिया टोली बिचको सहकार्यले यस क्षेत्रको दिगो पर्यटन तथा न्यून कार्बन उत्सर्जनमा केही सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।