पोखरामा एक्सटेपको नयाँ आउटलेट उद्घाटन, पोर्टर र गाइडलाई निःशुल्क जुत्ता वितरण (भिडियो सहित)

-


     पोखरा क्लिक     
     वैशाख १५ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, वैशाख १५,

पोखराको न्यूरोड क्षेत्रमा अन्तर्राष्ट्रिय खेल सामग्री ब्रान्ड एक्सटेप को नयाँ आउटलेट सञ्चालनमा आएको छ । यो आउटलेट पोखराको दोस्रो तथा नेपालभरको १५औँ शाखा रहेको एक्सटेप नेपालका अध्यक्ष गणेश श्रेष्ठले बताउनु भयो ।


पोखराको बुद्धबिशाल बजारमा रहेको पहिलो शाखासंगै पोखरामा यसको माग भएकोले पोखराको व्यस्त बजार न्यूरोडमा नयाँ आउटलेट संचालन गरिएको उहाँले जनाउनु भयो । उद्घाटनको अवसरमा एक्सटेप नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत हिमाली क्षेत्रमा कार्यरत पोर्टर तथा टुर गाइडहरूलाई निःशुल्क जुत्ता र टिसर्ट वितरण गरेको छ । साथै पोखराका युवा महिला खेलाडीहरूलाई पनि खेल पोशाक प्रदान गरिएको छ ।


अध्यक्ष श्रेष्ठका अनुसार, “कठिन भूगोलमा भारी बोकेर पर्यटकको यात्रा सहज बनाउने पोर्टरहरूको योगदान अतुलनीय छ । उहाँहरुकोे यात्रालाई सुरक्षित र सहज बनाउन जुत्ता प्रदान गरिएको हो।” टुर गाइडहरूको भूमिकालाई समेत महत्वपूर्ण हुने भन्दै उहाँहरुलाई पनि सहयोग गरिएको अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो। उक्त आउटलेटको पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दिपेन्द्र मर्सानी र चर्चित ट्रेल रनर तथा रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष समेत रहनु भएको दावा लामा ले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै मर्सानीले पोखरा पर्यटनसँगै खेलकुदको केन्द्रका रूपमा विकसित भइरहेको उल्लेख गर्दै एक्सटेपजस्तो अन्तर्राष्ट्रिय ब्रान्डको विस्तार महत्वपूर्ण भएको बताउनुभयो।

त्यसैगरी, ट्रेल रनर दावा लामाले एक्सटेपका उत्पादनहरू खेलाडी मात्र नभई दैनिक प्रयोगका लागि पनि उपयुक्त रहेको उल्लेख गर्दै यसको गुणस्तर र आरामदायक प्रयोग अनुभवको प्रशंसा गर्नुभयो । कार्यक्रममा टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, सहारा क्लवका बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङ लगायत खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । एक्सटेप विश्व बजारमा रनिङ, ट्रेनिङ र फिटनेस सामग्रीका लागि परिचित ब्रान्ड हो । कम्पनीका अनुसार, यसको जुत्ता हलुका, टिकाउ र कुशनिङ प्रविधियुक्त हुने भएकाले लामो समय प्रयोग गर्दा खुट्टामा कम थकान महसुस हुन्छ । साथै राम्रो ग्रिप, सपोर्ट र आकर्षक डिजाइनका कारण यो युवामाझ लोकप्रिय बन्दै गएको छ। नयाँ आउटलेटले पोखराका खेलाडी, फिटनेसप्रेमी तथा युवाहरूलाई गुणस्तरीय खेल सामग्री सहज रूपमा उपलब्ध गराउने विश्वास गरिएको छ । यहाँ उपलब्ध रनिङ जुत्ताहरूको मूल्य करिब ६,५०० रुपैयाँदेखि ३०,००० रुपैयाँसम्म रहेको जनाइएको छ ।