
पोखरा,
गण्डकी प्रदेशका महिला पत्रकारलाई जलवायु परिवर्तनका स्थानीय प्रभावमा खोजमूलक तथा तथ्यमा आधारित रिपोर्टिङ गर्न सक्षम बनाउने उद्देश्यले सञ्चारिका समूह नेपालको आयोजनामा सञ्चालित ‘व्यावहारिक पत्रकारिता सीप’ प्रादेशिक कार्यशाला आज समापन हुदै छ ।
महिला पत्रकारलाई प्रविधिमैत्री, खोजमूलक र जिम्मेवार पत्रकारितातर्फ अग्रसर गराउने उद्देश्यले आयोजित कार्यशालामा जेण्डर संवेदनशील जलवायु रिपोर्टिङ, समावेशी पत्रकारिता, खोजमूलक अनुसन्धान, डिजिटल पत्रकारिता, तथ्य जाँच मोबाइल पत्रकारिता तथा पत्रकारिताको आचारसंहिता लगायतका विषयमा व्यावहारिक प्रशिक्षण दिइएको थियो। कार्यशालामा सहभागी महिला पत्रकारलाई जलवायु परिवर्तनले स्थानीय समुदाय, वातावरण, पर्यटन, कृषि तथा जनजीवनमा पारिरहेको प्रभावलाई समाचारका रूपमा कसरी उजागर गर्ने भन्ने विषयमा अभ्यास गराइएको थियो। जलवायुका विषयलाई महिला, सीमान्तकृत तथा प्रभावित समुदायको दृष्टिकोणबाट रिपोर्टिङ गर्नुपर्ने आवश्यकतामाथि समेत छलफल गरिएको थियो। कार्यशालामा पत्रकार कमला पन्थीले समाजमा पत्रकारको भूमिका, प्रभावकारी समाचार निर्माण तथा समाचारको प्रभावकारिताबारे सहजीकरण गरेकी थिइन्। राजु थापा, कमला पन्थी र अनिशा गौतमले जलवायु परिवर्तनका स्थानीय प्रभाव तथा तथ्य जाँचसम्बन्धी व्यावहारिक अभ्यास गराएका थिए।
त्यस्तै, वरिष्ठ पत्रकार मोहन मैनालीले खोजमूलक पत्रकारिताका नयाँ आयाम, अनुसन्धानमा आधारित रिपोर्टिङ तथा जलवायु न्यायका विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए। डिजिटल पत्रकारितातर्फ विकास कार्कीले मोबाइल पत्रकारिता (ःयव्य), डिजिटल मिडिया तथा डिजिटल फ्याक्ट–चेकिङका विषयमा सहजीकरण गरेका थिए। सहभागीलाई मोबाइलबाटै समाचार संकलन, फोटो तथा भिडियो उत्पादन र डिजिटल प्लेटफर्मका लागि प्रभावकारी सामग्री निर्माण गर्ने सीपसमेत प्रदान गरिएको थियो। कार्यशालामा डिजिटल लिङ्ग संवेदनशील रिपोर्टिङ, पोडकास्ट निर्माण, पत्रकारिताको आचारसंहिता, सहभागीहरूको प्रस्तुति तथा आगामी कार्ययोजना निर्माण लगायतका विषयमा समेत अभ्यास गराइएको थियो। समापनका अवसरमा सहभागी महिला पत्रकारहरूले कार्यशालाबाट जलवायु परिवर्तन, खोजमूलक पत्रकारिता र डिजिटल प्रविधिको प्रयोगसम्बन्धी नयाँ ज्ञान तथा व्यावहारिक सीप हासिल भएको बताएका थिए। आयोजक सञ्चारिका समूह नेपालले महिला पत्रकारलाई समयअनुकूल पत्रकारिताका सीपसँग जोड्दै जलवायु परिवर्तनका असरलाई तथ्य, प्रमाण र स्थानीय आवाजका आधारमा उजागर गर्ने दक्ष जनशक्ति निर्माणमा कार्यशालाले योगदान पु¥याउने विश्वास व्यक्त गरेको छ।




