राष्ट्र बैंक पोखरा समक्ष पदयात्रा पर्यटन क्षेत्रको सवलिकरणका लागि व्यवसायी–मैत्री नीतिगत व्यवस्थाको माग गर्यो टान गण्डकीले

-


     पोखरा क्लिक     
     वैशाख १६ गते २०८३ मा प्रकाशित


पोखरा,

पदयात्रा पर्यटन क्षेत्रलाई सुदृढ बनाउँदै नेपालको अर्थतन्त्रमा थप टेवा पुर्‍याउने उद्देश्यले ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीले नेपाल राष्ट्र बैंक, शाखा कार्यालय पोखरा समक्ष व्यवसायी–मैत्री नीतिगत व्यवस्था तथा सहजीकरणका लागि ध्यानाकर्षण गराएको छ । टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले राष्ट्र बैंकलाई सम्बोधन गर्दै हाल सुधारोन्मुख अवस्थामा रहेको अर्थतन्त्रमा पदयात्रा पर्यटन क्षेत्रलाई अझ चलायमान बनाउन केन्द्रीय बैंकको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरेका छन् ।

राष्ट्र बैंकले २०८२ साल चैतसम्म जारी गरेका निर्देशन तथा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई आधार मानेर व्यवसायीहरूको तर्फबाट विभिन्न सुझावहरू पेश गरिएको जनाइएको छ । टान गण्डकीले विशेषगरी निषेधित क्षेत्रको पदयात्रा अनुमतिका लागि डलर खाता नभएका तर कर प्रणालीमा आबद्ध कम्पनीहरूलाई पनि अनुमति दिने व्यवस्था मिलाउन आग्रह गरेको छ । यसका साथै मौसमी प्रकृतिको व्यवसाय भएकाले कार्यशील पूँजी कर्जामा लचकता आवश्यक रहेको, तथा ३० प्रतिशतको सीमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न बैंकहरूलाई निर्देशन दिनुपर्ने माग गरिएको छ । त्यस्तै, व्यवसायीको नियत स्पष्ट हुँदाहुँदै परिस्थितिजन्य कारणले ऋण भुक्तानीमा ढिलाइ भएमा तत्काल कालोसूचीमा नराखी कम्तीमा ६ महिनाको समय दिने व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । पर्यटन, साना तथा मझौला उद्योग र निर्यात क्षेत्रमा २० प्रतिशत कर्जा प्रवाहको लक्ष्य निर्धारण गरिएकामा पदयात्रा व्यवसायलाई पनि प्राथमिकता दिनुपर्ने टानको धारणा छ ।
डिजिटल प्रणालीको विस्तारतर्फ संकेत गर्दै टान गण्डकीले ‘ए.बी.एन.’ फारामलाई पूर्ण रूपमा पेपरलेस बनाउन, दुर्गम क्षेत्रका व्यवसायीलाई प्राविधिक सहयोग उपलब्ध गराउन तथा अनधिकृत अनलाइन पोर्टलमार्फत हुने राजस्व चुहावट रोक्न औपचारिक बैंकिङ च्यानल अनिवार्य गर्नुपर्ने सुझाव दिएको छ।

यसैगरी, विभिन्न स्थानीय तहले उठाउने पर्यटन शुल्क र विदेशी मुद्रा व्यवस्थापनबीच समन्वय गर्न ‘एकद्वार प्रणाली’ लागू गर्न राष्ट्र बैंकले नेतृत्व लिनुपर्ने उल्लेख गरिएको छ । पदयात्रा व्यवसायीहरूलाई विदेशी विनिमय सम्बन्धी प्राविधिक तालिम प्रदान गर्नुपर्ने र भ्याट तथा प्यानमा आबद्ध व्यवसायीका लागि स्पष्ट प्रक्रिया आवश्यक रहेको पनि जनाइएको छ । रूसी पर्यटकहरूको बढ्दो आगमनलाई ध्यानमा राख्दै उनीहरूको भुक्तानीमा देखिएको समस्याको समाधानका लागि क्रस–बोर्डर क्यूआर प्रणालीलाई सहज रूपमा लागू गर्नुपर्ने माग समेत गरिएको छ । टान गण्डकीले प्रस्तुत गरेका यी सुझावहरू कार्यान्वयन भएमा पदयात्रा पर्यटन क्षेत्र थप सशक्त भई वैदेशिक मुद्रा आर्जनमा उल्लेखनीय योगदान पुग्ने टानले विश्वास व्यक्त गरेको छ ।

नेपाल राष्ट्र बैंक पोखराका निर्देशक केशव प्रसाद तिमिल्सिानाले उक्त ध्यानाकर्षण पत्र बुझ्दै व्यवसायी हितको लागि आफुहरु सकरात्मक भएको बताउनु भयो । प्राप्त सुझाव केन्द्रमा पेश गर्ने उहाँले जनाउनु भयो ।