फिस्टेल मोडेल युनाइटेड नेसन्स FMUN 3.0  सम्पन्नः पोखरामा ८ सय बढी विद्यार्थीबीच विश्वव्यापी मुद्दामा बहस

-


     पोखरा क्लिक     
     भाद्र ७ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखराको प्रतिष्ठित फिस्टेल एकेडेमी आइबी वल्ड स्कुलको आयोजनामा तीन दिनसम्म सञ्चालिन फिस्टेल मोडेल युनाइटेड नेसन्स ३.० FMUN 3.0  कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको उक्त कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (undp) गण्डकी—लुम्बिनीका प्रमुख सुदीप अर्यालले यस प्रकारका अभ्यासले विद्यार्थीहरूको तार्किक क्षमता र सिकाइलाई प्रष्ट रूपमा राख्ने सीपको विकास गर्ने बताए ।

“संसारको सबैभन्दा सुन्दर ठाउँ यही हो जहाँ हामी छौँ र हामीले यो सुन्दर ठाउँलाई अझै सुन्दर बनाउन अग्रसर हुनुपर्छ,“ अर्यालले आफ्नो सम्बोधनका क्रममा जोड दिए । तीन दिन सम्म सञ्चालित उक्त कार्यक्रममा काठमाडौँ, हेटौँडा, दाङ, सुर्खेत, कुश्मा, तनहुँ तथा पोखरासहित विभिन्न ३० विद्यालयबाट करिब ८ सय विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यार्थीहरूलाई संयुक्त राष्ट्रसङ्घ अन्तर्गतका २४ वटा विभिन्न कमिटीमा विभाजन गरी विश्वव्यापी समसामयिक चुनौती र तिनका समाधानका उपायहरूबारे गम्भीर बहस गरिएको थियो भने सम्बन्धित विषय क्षेत्रका विज्ञहरूबाट कार्यक्रममा विशेष सहजीकरण गरिएको थियो ।

समापन समारोहमा हरेक कमिटीबाट उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मानित गरिएको थियो । प्रत्येक कमिटीबाट बेस्ट डेलिगेट, आउटस्ट्यान्डिङ डेलिगेट, अनरेबल मेन्सन र बेस्ट रिपोर्टर गरी चार–चार जना प्रतिनिधिहरू पुरस्कृत भएका थिए । प्रमुख अतिथि सुदीप अर्यालले विजयी विद्यार्थीहरू तथा सहजकर्ता (चियर तथा भाइस चियर) हरूलाई प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए भने समारोहमा अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीका प्रतिनिधि लगायत विभिन्न शैक्षिक संस्थाका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष चिनु रानाभाटले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै आगामी दिनमा यो कार्यक्रमलाई अझै फराकिलो र देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गरे । विद्यार्थीद्वय कृषा रानाभाट र सुदिना गुरुङले संयुक्त रूपमा सञ्चालन गरेको समापन समारोहमा पोखराका विभिन्न स्थानीय ब्यान्डहरूको बेजोड सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप रमाइलो र स्मरणीय बनाएको थियो ।