पर्यटन चालकका लागि पोखरामा २० घण्टे व्यावहारिक अंग्रेजी भाषा तालिम सुरु (भिडियो सहित) ,गण्डकी प्रदेशमा पर्यटनको अथाह सम्भावना छः मन्त्री रिमाल

-


     पोखरा क्लिक     
     भाद्र ४ गते २०८३ मा प्रकाशित


दीननाथ बराल

पोखरा, भदौ ४

पर्यटन क्षेत्रमा कार्यरत पर्यटक सवारी चालकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा २० घण्टे व्यावहारिक तथा सघन अंग्रेजी भाषा तालिम सुरु भएको छ । नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको आयोजना, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको समन्वय तथा अमेरिकी दूतावास नेपालको सहयोगमा आज (बिहीबार) देखि तालिम सुरु भएको हो ।

तालिम भदौ ८ गतेसम्म पोखरास्थित होटल एलिगेन्समा सञ्चालन हुने भएको नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकीका अध्यक्ष रविप्रसाद आचार्यले बताउनु भयो । तालिममा १९ जना पर्यटक सवारी चालक सहभागी छन् । तालिमका लागि २६ जना छनोट गरिए पनि निर्धारित समयमा सहभागी हुन नआएका सात जनाले यसपटक तालिममा सहभागी हुने अवसर गुमाएको महासचिव श्याम लामिछाने बताउनु भयो । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले पर्यटनको राजधानी पोखरामा पर्यटनको अथाह सम्भावना रहेको बताउनुभयो । विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये तीनवटा गण्डकी प्रदेशमै रहेको उल्लेख गर्दै उहाँले विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा पछिल्लो वर्ष करिब पाँच लाख विदेशी पर्यटक पुगेको दाबी गर्नुभयो । अन्नपूर्ण क्षेत्रको संरक्षणसँगै अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रवद्र्धन गर्न सके अझ धेरै पर्यटक भित्र्याउन सकिने उहाँले बताउनुभयो । तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न पनि मन्त्री रिमालले सहभागी चालकहरूलाई आग्रह गर्नुभयो ।

नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइकल हार्करले पर्यटन चालकहरूका लागि अंग्रेजी भाषा तालिम निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले तालिममा समयको ख्याल गर्दै नियमित र अनुशासित भएर सहभागी हुन आग्रह गर्नुभयो । सगरमाथा र अन्नपूर्ण हिमालको आरोहणसमेत गरिसक्नुभएका हार्करले नेपालको हिमाली सौन्दर्यले विश्वभरका पर्यटकलाई आकर्षित गरिरहेको बताउनुभयो । पोखरा आउने विदेशी पर्यटकको पहिलो सम्पर्क सवारी चालकसँग हुने भएकाले चालकहरूमा राम्रो व्यवहार, आनीबानी, नेपालको कला–संस्कृति तथा पर्यटकीय गन्तव्यबारे पर्याप्त ज्ञान हुन आवश्यक रहेको उहाँको भनाइ थियो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले तालिमले पर्यटक सवारी चालकलाई विदेशी पर्यटकसँग प्रभावकारी रूपमा संवाद गर्न तथा सेवा प्रवाहको गुणस्तर सुधार गर्न विशेष सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तालिमका मुख्य प्रशिक्षक अमेरिकी दूतावास नेपालका रिलो कार्यक्रम विशेषज्ञ विश्वराज गौतम रहनुभएको संघका सचिव तथा कार्यक्रम संयोजक शोभाखर तिवारीले जानकारी दिनुभयो । उद्घाटन समारोहमा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी लगायतका पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो । नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष रविप्रसाद आचार्यको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।