
भाद्र ८,पोखरा,
गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा पोखरा कलेज अफ म्यानेज्मेण्टको प्रमुख प्रायोजनमा पोखरामा सम्पन्न प्रथम पिसिएम कप खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत यु–१८ ब्वाईज सिंगलको उपाधी शास्वत बज्राचार्यले जितेका छन् । सोमबार पोखरा रंगशालाभित्रको टेनिस कोर्टमा भएको फाइनल खेलमा सन्दिप विकलाई ६–१,६–१ को सहज सेटमा पराजित गर्दै शास्वतले सो उपाधी जितेका हुन् ।
त्यस्तै, यु–१४ ब्वाईज सिंगल उपाधी आर्यषराज पौडेलले जितेका छन् । उनले अभिषेक बयलकोटीलाई ६–१, ७–५ को सेटमा पराजित गरेका थिए । यस्तै यू–१६ ब्वाइज सिंगल्समा सुरेन्द्र बिक च्याम्पियन बने । फाइनलमा उनले आर्यषराज पौडेललाई ६–३, ६–३ को सेटमा पराजित गरेका थिए । गल्र्सतर्फ यु–१२ र यु–१० दुर्वतर्फको उपाधी निम्ती कुँवरले जितेकी छन् । यू–८ गल्र्स सिंगल्समा वाणी राजभण्डारी प्रथम तथा निवेदी सुनार द्वितिय भइन् । यू–१२ ब्वाइज सिंगल्समा सहंश बस्नेतले इभान भट्टराईलाई पराजित गर्दै प्रथम हुन सफल भए । यू–९ ब्वाइज सिंगल्समा सवज्र्ञ जंग खत्री प्रथम तथा सोनम टी घले द्वितिय भए ।
विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि पोखरा कलेज अफ म्यानेज्मेण्टका प्राचार्य लिना नेगी श्रेष्ठ, नेपाल टेनिस संघका पुर्व अध्यक्ष मनोज राणा, प्रतियोगिता संयोजक लोक गुरुङ लगायतले एक समारोहका विच आकर्षक गिफ्ट ह्म्पर सहित मेडल, प्रमाण–पत्रले पुरस्कृत गरिन् । सो अवसरमा कलेज प्राचार्य श्रेष्ठले पोखरा कलेज अफ म्यानेज्मेण्टले विगत २५ वर्ष देखि व्यवस्थापनको क्षेत्रका पढनपाठनसंगै युवा लक्षित विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिइन् । कलेजले खेलकुदको पाटोलाई पनि महत्व दिंदै आएको उनको भनाई थियो ।आयोजक समितिका अध्यक्ष समेत रहेका कलेजका अध्यक्ष बिनोद कायस्थले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने बताए । आयोजक संघका महासचिव नविन श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।





