
पोखरा,
साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले फिफा विश्वकप २०२६ को उपाधि चुमेको छ। अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलको मद्दतमा स्पेनले अर्जेन्टिनालाई १–० ले हराउँदै १६ वर्षपछि दोस्रो पटक विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो ।

अमेरिकाको न्युजर्सी स्टेडियममा भएको रोमाञ्चक फाइनलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो। खेल अतिरिक्त समयमा धकेलिएपछि १०६औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए। निर्धारित समयमै एन्जो फर्नान्डेज दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो, जसको फाइदा स्पेनले उठाउन सफल भयो । खेलभर बलमा नियन्त्रण कायम राखेको स्पेनले अर्जेन्टिनामाथि लगातार दबाब सिर्जना गरेको थियो। कप्तान लियोनेल मेसीलाई प्रभावहीन बनाउँदै स्पेनले उत्कृष्ट सामूहिक प्रदर्शन गर्यो। यससँगै स्पेनले सन् २०१० पछि दोस्रो पटक विश्वकपको उपाधि चुम्न सफल भएको हो ।

स्पेनको सफलतामा युवा स्टार लामिन यमालले विशेष भूमिका निर्वाह गरे। डेब्यु विश्वकपमै उनले गोल, असिस्ट र सिर्जनात्मक खेलमार्फत टोलीको उपाधि यात्रामा महत्वपूर्ण योगदान दिए। प्रतियोगिताभर सर्वाधिक सफल ड्रिबल गर्ने खेलाडी बनेका यमालले विश्वकपका विभिन्न उमेरसम्बन्धी कीर्तिमानसमेत आफ्नो नाममा लेखाए। यता फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले प्रतियोगिताभर आठ खेलमा १० गोल गर्दै गोल्डेन बुट जिते। यसअघि २०२२ विश्वकपमा पनि सर्वाधिक गोलकर्ता बनेका एम्बाप्पे लगातार दुई संस्करणमा गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने। उनले अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई पछि पार्दै व्यक्तिगत रूपमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरे।

यसैबिच, विश्वकप फाइनलको रोमाञ्चक भिडन्त पोखरामा पनि विशेष आकर्षणको केन्द्र बन्यो। पोखरा महानगरपालिकाको पहलमा पृथ्वीचोक, हल्लनचोक, महेन्द्रपुल सहित ११ स्थानमा ठूलो पर्दामार्फत खेलको प्रत्यक्ष प्रसारण गरिएको थियो। खेल सुरु हुनुभन्दा करिब एक घण्टाअघि पोखरामा मुसलधारे वर्षा भए पनि फुटबलप्रेमीको उत्साह भने कम भएन। वर्षाको कुनै प्रवाह नगरी सयौँ दर्शक ठूलो पर्दाअघि भेला भएको श्रोतले पोखराक्लिकलाई जनाएको छ । कोही रेनकोट ओढेर, कोही छाता लिएर त कोही पानीमै भिज्दै विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको फाइनलको रोमाञ्चक क्षणको साक्षी बने।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेल संस्कृतिको विकास र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सामूहिक रूपमा फाइनल हेर्ने व्यवस्था गरिएको बताए। उनले परिवार, साथीभाइ र फुटबलप्रेमी सबैलाई एकै स्थानमा भेला भएर विश्व फुटबलको उत्सव मनाएकोमा धन्यवाद व्यक्त गरे। फाइनल खेलको प्रत्यक्ष प्रसारण व्यवस्थापनमा महानगर सहित स्थानिय प्रशासन, परिचय एड्भर्टाइजिङ तथा एस.के.साउण्ड एण्ड म्युजिकले सहकार्य गरेका थिए। वर्षाको चुनौतीका बीच पनि ठूलो संख्यामा उपस्थित दर्शकले खेलप्रतिको आफ्नो मोह र उत्साहलाई जीवन्त बनाएका थिए। स्पेनले उपाधि जितेसंगै पोखरामा पनि केहीले खुसियाली मनाएका थिए ।






