
बागलुङ,
नेपाल उद्योग व्यापार महासङ्घ, गण्डकी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन बागलुङमा सम्पन्न भएको छ। अधिवेशनले अर्जुन चोखालको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
कार्यक्रममा महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठ प्रमुख अतिथि तथा नेकपा गण्डकी प्रदेश इञ्चार्ज श्रीनाथ बराल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। महासचिव खेमनारायण पराजुली, विभिन्न स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अध्यक्ष जनकराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गोकुल प्रसाद कँडेलले गर्नुभएको थियो। कार्यक्रममा अध्यक्षीय तथा कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिएको थियो, जसमा संस्थाका हालसम्मका उपलब्धि र आगामी कार्यदिशाबारे स्पष्ट मार्गचित्र प्रस्तुत गरिएको थियो।
अधिवेशनले निजी क्षेत्रको सशक्तीकरण, उद्योग–व्यापार प्रवर्द्धन तथा व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै नयाँ नेतृत्व चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिलाई केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठले शपथग्रहण गराउनुभएको थियो।
नवनिर्वाचित अध्यक्ष अर्जुन चोखालले व्यवसायीहरूको हकहित संरक्षण, संगठन सुदृढीकरण र प्रदेशको आर्थिक विकासमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा तारानाथ ढुङ्गाना, उपाध्यक्षहरूमा बालकृष्ण कोइराला, नारायण श्रेष्ठ, गोपाल सुर्खाली र गोकुल प्रसाद कँडेल चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा जमुना अधिकारी चयन हुनुभएको छ। महासचिवमा राजेन्द्र शर्मा, उपमहासचिवमा रामकृष्ण भट्ट, कोषाध्यक्षमा मोतीलाल पौडेल र सह–कोषाध्यक्षमा दशरथ गैरे चयन हुनुभएको छ।
सदस्यहरूमा प्रेम गिरी, घनश्याम न्यौपाने, टेक प्रसाद सापकोटा, कृष्णबहादुर खत्री, गीता खड्का, थुमा कुमारी पौडेल अधिकारी, गगन बहादुर पुन मगर, सोनम थापा छेत्री र प्रेम प्रसाद शर्मा चयन हुनुभएको छ। हाल २० सदस्य चयन भइसकेका छन् भने बाँकी सदस्य थपिँदै पूर्ण ३१ सदस्यीय कार्यसमिति गठन गरिने जनाइएको छ। नवनिर्वाचित कार्यसमितिले समावेशी, पारदर्शी र परिणाममुखी ढंगले संगठनलाई अघि बढाउँदै व्यवसायीहरूको हकहित संरक्षण तथा प्रदेशको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।



