पोखरामा रोकेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा,दुई जना युवाको ज्यान गयो

-


     पोखरा क्लिक     
     कार्तिक २७ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २७ कार्तिक ,

पोखरामा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा स्कुटर चालक र सवार दुई जना युवाको ज्यान गएको छ । पोखरा महानगरपालिका–५ जिरो किलोमिटर नजिक आव (शुक्रबार) दिउँसो भएको दुर्घटनामा स्कुटरमा सवार दुवै जनाको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराक्लिकलाई जनाएको छ ।

मृत्यु हुनेमा म्याग्दीको मंगला गाउँपालिका–दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै रघुगंगा गाउँपालिका–३ निवासी २६ वर्षीय मोहन परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले बताउनु भयो । विवेकलाई टाउको र आँखामा गम्भीर चोट लागेको थियो भने उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा दिउँसो ३ः५० बजे चिकित्सकले मृत घोषणा गर्नु भएको हो । उहाँको शवलाई दिउँसो ५ बजे आफन्तले सनाखत गर्नु भएको छ । लु ३ च ५२७४ नम्बरको बोलेरो जिप सडकमा रोकेर राखिएको अवस्थामा ग २३ प १७१६ नम्बरको स्कुटर पछाडिबाट ठोक्किका गम्भिर घाइते हुनु भएका स्कुटर चालक र सवार दुबै युवाको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै टाउकोमा चोट लागेका मोहनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएको थियो । अस्पतालमा परीक्षणका क्रममा दिउँसो ३ः१० बजे चिकित्सकले उहाँलाई मृत घोषणा गर्नु भएको थियो । उहाँको शवलाई आमा रूपा परियारले सनाखत गर्नु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक मुकुन्द सिग्देलको कमान्डमा १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले दुर्घटनामा संलग्न स्कुटर, बोलेरो जिप र बोलेरो चालक पोखरा महानगरपालिका–२८ कालिका निवासी ४८ वर्षीय अमृत बजगाईंलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।