
पोखरा, १६ वैशाख,
कास्कीको मादी गाउँपालिकामा आयोजना हुने निःशुल्क आँखा शिविरमा मोतीया बिन्दु भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिने भएको छ । पोखरा जेसीजको आयोजनामा यही वैशाख १९ गते शनिबार मादी गाउँपालिका वडा नं.९ मिजुरेमा सञ्चालन हुने उक्त शिविरमा ग्रामीण भेगका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन हुने शिविरमा आँखासम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूको जाँच, उपचार तथा आवश्यक परेमा शल्यक्रिया समेत गरिने पोखरा जेसीजका अध्यक्ष सुमन पहारी बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउनु भयो । विशेषगरी मोतीया बिन्दुका बिरामीलाई लक्षित गर्दै निःशुल्क शल्यक्रिया सुविधा उपलब्ध गराइने उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष पहारीका अनुसार शिविरमा पहिचान भएका जटिल प्रकृतिका तथा मोतीया बिन्दुका बिरामीले सम्बन्धित वडाको सिफारिसका आधारमा निःशुल्क शल्यक्रिया सेवा पाउनेछन्। यसबाट आर्थिक अभावका कारण उपचारबाट वञ्चित ग्रामीण क्षेत्रका नागरिकलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ। उक्त आँखा शिविर पोखरा जेसीजले आयोजना गर्न लागेको ‘जेसीज सप्ताहन्त २०२६’ अन्तर्गतको दोस्रो दिनको कार्यक्रम हो। तीन दिनसम्म सञ्चालन हुने सप्ताहन्तमा युवामुखी तथा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू समेटिएका छन्। आयोजकका अनुसार सप्ताहन्तले स्वास्थ्य, उद्यमशीलता तथा सामाजिक सेवाका क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
जेसीज सप्ताहन्तको पहिलो दिन वैशाख १८ गते बिहान १० बजेदेखि ५ बजेसम्म र्पस्याङस्थित ताज महल इभेन्ट सेन्टरमा उद्घाटन समारोह हुने भएको छ। सोही अवसरमा पोखरा महानगरपालिका वडा नम्बर ५ को सहकार्यमा युवाहरुका लागि ‘वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम’ सञ्चालन हुने जेसीज पोखराका उपाध्यक्ष एवम् सप्ताहन्तका मूल संयोजक जेसी ई.रविन्द्र गोदारले जानकारी दिनुभयो । यस्तै सप्ताहन्तको तेस्रो तथा अन्तिम दिन वैशाख २० गते आइतबार रक्तदान तथा विजनेस आइडिया पिचिङ कार्यक्रम सञ्चालन हुने भएको मिडिया संयोजक संजय थापाले बताउनु भयो । उक्त दिन बिहान ७ बजेदेखि वृहत रक्तदान कार्यक्रम हुनेछ भने दिउँसो ३ बजेबाट पोखरा जेसीजको सचिवालयमा विजनेस आइडिया पिचिङ हुने आयोजकले बताएको छ । युवाहरुको नवप्रवर्तनकारी सोचलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रम हुने उहाँले जनाउनु भयो ।




