
पोखरा ५, असोज,
पोखराको फिर्केखोलालाई अतिक्रमणमुक्त बनाउन पोखरा महानगरपालिकाले ७ दिने सूचना प्रकासन गरेको छ । पोखरा–१८ स्थित अँधेरीकुनादेखि फेवातालको गाईघाटसम्म बग्ने करिब ८ किलोमिटर लामो फिर्केखोलाको खोलाघर (बहाव क्षेत्र) भित्र निर्माण गरिएका अनधिकृत भौतिक संरचना ७ दिनभित्र अनिवार्य रूपमा हटाउन महानगरले असोज ५ गते अन्तिम पटक सार्वजनिक सूचना जारी गरेको छ ।
गत भदौ १५ गतेसम्म संरचना आफैँ हटाउन अन्तिम म्याद दिइएको थियो । तर, गत भदौ १० गते भोटेकोशी नदीमा आएको प्राकृतिक विपत्ति र निरन्तरको वर्षाका कारण उपकरण परिचालनमा कठिनाइ उत्पन्न भई कार्यमा केही ढिलाइ हुन पुगेको महानगरले स्पष्ट पारेको छ । महानगरका अनुसार तोकिएको म्यादभित्र व्यक्ति वा संस्था स्वयंले संरचना नहटाएमा महानगरपालिकाले प्रचलित कानुनबमोजिम डोजर चलाएर संरचना भत्काउनेछ । साथै, सो बापत लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाटै ’सरकारी बाँकी’ सरह असुलउपर गरिने कडा चेतावनी समेत दिइएको छ ।
फिर्केखोलाको बहाव क्षेत्रमा पहिचान गरिएका कूल १ सय ६० वटा अनधिकृत संरचनामध्ये अधिकांश हटाइसकिएको छ भने ३३ वटा संरचना पूर्ण रूपमा भत्काइसकिएको छ । हालसम्म ५८ वटा संरचना पूर्ण रूपमा हटाउन बाँकी रहेका छन् । खोलाघरभित्र रहेका बाँकी संरचनाको पछिल्लो अवस्थाबारे पूर्ण र सटीक विवरण तयार गर्न महानगरले प्राविधिक टोली तथा नगर प्रहरीलाई ७ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । फिर्केखोला बहने पोखराका ८ वटै वडा (वडा नं. २, ४, ५, ६, ७, ८, १७ र १८) का वडाध्यक्षहरूसँग समन्वय गरी टोलीले स्थलगत अध्ययन सुरु गरिसकेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार खोलाघर पूर्ण रूपमा खाली गराएर पैदलमार्ग (फुटपाथ) र साइकल लेनसहितको आधुनिक “फिर्केखोला करिडोर“ निर्माण गर्ने योजना अघि सारिएको छ । ’भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८० (दोस्रो संशोधन, २०८२)’ अनुसार करिडोर निर्माणको प्राविधिक तथा पूर्वतयारीका कामहरू असोज १ गतेदेखि नै अगाडि बढाइसकिएको नगरप्रमुख आचार्यले जानकारी दिनुभयो ।
अतिक्रमण, प्रदूषण र अव्यवस्थित सहरीकरणका कारण संकटमा परेको फिर्केखोलाको संरक्षणका लागि स्थानीय तथा संरक्षणकर्मीहरूले लामो समयदेखि आवाज उठाउँदै आएका थिए । महानगरको यस कदमको स्वागत गर्दै नागरिक समाज पोखराका अगुवा रामबहादुर पौडेलले भन्नुभयो, “ढिलै भए पनि सूचना जारी गरी काम अघि बढाएकोमा पोखरा महानगरपालिकालाई धन्यवाद ज्ञापन गर्दछु । फिर्केखोला करिडोर निर्माण कार्यले चाँडै पूर्णता पाओस् भन्दै हार्दिक शुभेच्छासहित ऐक्यबद्धता व्यक्त गर्दछौँ।“





