
पोखरा,
तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालको आगामी तीन वर्षे कार्यकालका लागि सुवेदार मेजर श्रीप्रसाद गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। तमु धिं नेपालको आगामी असोज ९ र १० गते पोखरामा हुने ४२औँ वार्षिक साधारणसभा तथा १७औँ महाधिवेशनअन्तर्गत शनिबार भएको मनोनयन दर्तामा अध्यक्षसहित सबै पदमा एकल उम्मेदवारी परेपछि पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन्।
यद्यपि निर्वाचित पदाधिकारीहरूको औपचारिक घोषणा भने असोज ९ गते गरिने प्रमुख निर्वाचन अधिकृत एवं तमु धिं नेपालका संस्थापक उपाध्यक्ष शंकर गुरुङले जानकारी दिनुभयो। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार अध्यक्षमा सुवेदार मेजर श्रीप्रसाद गुरुङ, वरिष्ठ उपाध्यक्षमा गीमाया गुरुङ, प्रथम उपाध्यक्षमा अधिवक्ता जुनाकुमारी गुरुङ, द्वितीय उपाध्यक्षमा गोपाल गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी महासचिवमा कृष्णकुमार गुरुङ, सचिवमा श्रीजंग गुरुङ, सहसचिवमा बालकुमारी गुरुङ, कोषाध्यक्षमा जगतबहादुर गुरुङ र सहकोषाध्यक्षमा काशीमाया गुरुङ निर्विरोध निर्वाचित हुनुभएको हो।
कास्कीको मादी गाउँपालिका–२ ताङतिङका श्रीप्रसाद गुरुङ भारतीय सेनाबाट सुवेदार मेजर पदमा सेवा निवृत्त हुनुहुन्छ। उहाँ तमु धिं नेपालको वर्तमान वरिष्ठ उपाध्यक्ष हुनुका साथै यसअघि दुई कार्यकाल कोषाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसक्नुभएको छ। उहाँले ताङतिङ दुधपोखरी तमु समाज, पोखराको नेतृत्वसमेत गरिसक्नुभएको छ। तमु धिं नेपालका वर्तमान अध्यक्ष हुमबहादुर गुरुङले लगातार दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेपछि संस्थाको नेतृत्व अग्रज तथा अनुभवी व्यक्तिलाई हस्तान्तरण गर्ने उद्देश्यले सहमतिका लागि पहल गरिएको बताइएको छ। नेतृत्व चयनमा सर्वसम्मति कायम गर्न पटक–पटक गरिएको प्रयासपछि अध्यक्षसहित पदाधिकारीमा एकल उम्मेदवारी परेको हो।
महाधिवेशनका लागि निर्वाचन समिति गठन
वि।सं। २०४२ साल जेठ ५ गते स्थापना भएको तमु धिं नेपालको १७औँ महाधिवेशन सम्पन्न गर्न संस्थापक उपाध्यक्ष शंकर गुरुङको प्रमुख निर्वाचन अधिकृतत्वमा निर्वाचन समिति गठन गरिएको छ। समितिमा पूर्वउपाध्यक्ष अधिवक्ता अनिता गुरुङ, पूर्वमहासचिव रुद्रकुमारी गुरुङ ‘मैना’, संरक्षक परिषद्का सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ र समाजसेवी क्याप्टेन चन्द्रप्रसाद गुरुङ सदस्य रहनुभएको छ। तमु धिं नेपालको ४२औँ वार्षिक साधारणसभा तथा १७औँ महाधिवेशन असोज ९ र १० गते पोखरामा आयोजना हुँदैछ। महाधिवेशनले संस्थाको आगामी कार्यदिशा तय गर्नुका साथै निर्विरोध निर्वाचित पदाधिकारीहरूको औपचारिक घोषणा गर्नेछ।




