
पोखरा,
कास्कीको मादी गाउँपालिकाको धनुवास कालिका माध्यमिक विद्यालयमा हालै आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित हुनु भएको छ । २५६९ औं बुद्ध जयन्तीको अवसरमा युवा बौद्ध संघ, धर्मशीला बुद्ध विहार, पोखरा द्वारा साप्ताहिक कार्यक्रम अन्तर्गत आयोजित ल्याब परिक्षण, औषधी वितरण सहित निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित हुनु भएको मादी गाउँपालिका ७ का वडा अध्यक्ष दुर्गा बहादुर गुरुङ्गले पोखरा क्लिकलाई बताउनु भयो ।
प्रमुख अतिथि द्वय भिक्षु धजवन्तो तथा मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ्गले उक्त कार्यक्रमको उद्घाटन गर्दै गाउँ गाउँमा यस्ता स्वास्थ्य शिविर आवश्यक भएकोमा जोड दिनुभयो । आयोजक युवा बौद्ध संघ, धर्मशिला बौद्ध विहारका अध्यक्ष कमला थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक बरिष्ठ बालरोग विशेषज्ञ डा.भाईरत्न शाक्य, बरिष्ठ हाडजोर्नी तथा नसा रोग डा.यज्ञमान शाक्य लगायत अन्य डाक्टरहरुको उपस्थितीमा संचालन गरिएको सहसंयोजक रवि उदासले बताउनु भयो । उक्त कार्यक्रमबाट आफुहरु निकै प्रभावित भएको सह–सचिव प्रिति बुद्धाचार्यले जनाउनु भयो ।
मादी ७ का वडा अध्यक्ष दुर्गा बहादुर गुरुङ्गले युवा बौद्ध संघ, धर्मशीला बुद्ध विहार, पोखरा द्वारा साप्ताहिक कार्यक्रम अन्तर्गत मादी ७ मा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालनको लागि सहयोग गर्नुभएकोमा उक्त संस्था स्वास्थयकर्मी तथा सम्पूर्ण चिकित्सक टोली र मादी आधारभूत अस्पतालका डा.विनोद बराल, मादी गाउँपालिका स्वास्थ्य प्रमुख गोपाल चन्द्र बराल, धनुबास कालिका मा.वि.का प्र.अ. गोपाल सापकोटा तथा मादी आधारभूत अस्पतालका सम्पूर्ण कर्मचारी, जनप्रतिनिधिहरु, व्यंसेविकाहरु, टोल संयोजकहरु मादी ७ वडा कार्यालयका कर्मचारीहरुको साथ र सहयोगमा स्वास्थ्य शिविर भव्य रुपमा सम्पन्न गराउनु भएकोमा सम्पूर्णमा धन्यवाद दिनुभयो ।
साथै आगामी दिनमा यस्तै स्वास्थ्य शिविरहरु संचालनको लागि युवा बौद्ध संघ, तथा चिकित्सक टोलीलाई अनुरोध गर्नु भयो । शिविरमा सेवा लिने मादी–७ वासी सेवाग्राहीहरु निकै खुसी हुदै सबैलाई धन्यवाद दिनु भएको थियो । उक्त स्वास्थ्य शिविर व्यवस्थापन मादी गाउँपालिकाको कार्यालय र मादी आधारभूत अस्पताल छाचोक तथा मादी–७ वडा कार्यालय रहेको थियो ।



