
पोखरा,
पोखराको ड्याडिज किचनले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ। देशमा परेको विपद्का बेला सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारको राहत अभियानमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको ड्याडिज ग्रुपका अध्यक्ष एवं युवा व्यवसायी कमलजंग कुँवरले पोखराक्लिकलाई बताउनुभयो।
पोखरामा ड्याडिज किचनका विभिन्न शाखा तथा आउटलेट सञ्चालनमा छन्। चिप्लेढुंगामा ड्याडिज किचनको चौथो शाखा केही समयदेखि सञ्चालनमा आएको हो भने बिरौटामा फुड ट्रक, हिमाली टोलमा ड्याडिज किचन र सिमलचौरमा ड्याडिज एक्सप्रेस सञ्चालनमा रहेको कुँवरले बताउनुभयो। देशका विभिन्न स्थानमा विस्तार भइरहेको ड्याडिज किचनले विपद्का बेला सामाजिक उत्तरदायित्वअन्तर्गत राहत अभियानमा सहयोग गरेको हो।




