भोटेकोशी बाढीको कहर ६६७ नेपाली तथा विदेशी सम्पर्कविहीन, तटीय क्षेत्रमा शवको चाङ

-


     पोखरा क्लिक     
     भाद्र ११ गते २०८३ मा प्रकाशित


पोखरा, भदौ १२,

रसुवा र भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो मानवीय संकट निम्त्याएको छ। बाढीपछि प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुको खोजी तथा उद्धारलाई तीव्र पारिएको छ भने ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ।

नेपाल पर्यटन बोर्डले बिहीबार साँझ ५ः३० बजेसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार १२७ नेपालीसहित ६६७ जना नेपाली तथा विदेशी नागरिक अझै सम्पर्कविहीन छन्। बोर्डले उनीहरूलाई ‘अझै सम्पर्कविहीनको सूचीमा राखेको छ। बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा ३२ देशका नागरिक छन्। सबैभन्दा धेरै भारतका १७८ जना छन्। त्यसपछि नेपालका १२७, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३, क्यानडाका २५ र चीनका २४ जना रहेका छन्। त्यस्तै रुस र जर्मनीका ८–८, लाटभिया र दक्षिण अफ्रिकाका ६–६, जापान र न्युजिल्यान्डका ५–५, फ्रान्सका ४ तथा बेल्जियम र स्पेनका ३–३ जना सम्पर्कविहीन छन्। इटाली, आयरल्यान्ड, काजाखस्तान र नेदरल्यान्ड्सका २–२ तथा बेलारुस, फिनल्यान्ड, हंगेरी, इजरायल, लिथुआनिया, फिलिपिन्स, सर्बिया र स्विडेनका एक–एक जना सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।

सम्पर्कविहीन पर्यटक तथा यात्रुको वास्तविक अवस्था पत्ता लगाउन पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, स्थानीय प्रशासन, सुरक्षा निकाय, ट्राभल एजेन्सी तथा ट्रेकिङ कम्पनीबीच समन्वय भइरहेको छ। उनीहरू बाढी आउनुअघि कुन क्षेत्रमा थिए, कहाँबाट यात्रा गरेका थिए र अहिले कहाँ हुन सक्ने सम्भावना छ भन्ने विषयमा विवरण प्रमाणीकरणको काम भइरहेको छ। बाढीले सडक तथा यातायात संरचनामा समेत ठूलो क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी अभियान थप चुनौतीपूर्ण बनेको छ। सुरक्षाकर्मीले जोखिमयुक्त तटीय क्षेत्रमा सम्भावित स्थान पहिचान गरी खोजी अभियान सञ्चालन गरिरहेका छन्। पर्यटक तथा उनीहरूका परिवारजनलाई आपत्कालीन अवस्थामा सम्पर्कका लागि नेपाल पर्यटन बोर्डले टोल–फ्री नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटक प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ। खोजी तथा तथ्यांक प्रमाणीकरणको काम जारी रहेकाले आगामी विवरणमा सम्पर्कविहीनको संख्या घटबढ हुन सक्ने बोर्डले जनाएको छ।

त्रिशूलीको तटीय क्षेत्रमा शव भेटिने क्रम बढ्दो

यसैबीच, रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका नागरिकका शव त्रिशूली नदीको तटीय क्षेत्रमा धमाधम भेटिन थालेका छन्। बुधबार र बिहीबार मात्रै तनहुँ, गोरखा र नवलपुरका विभिन्न क्षेत्रमा १३५ जनाको शव भेटिएको विवरण सार्वजनिक भएको छ। तनहुँमा भेटिएका नौ शव व्यवस्थापनका लागि पोखरा ल्याइएको छ। बुधबार नै शव भेटिए पनि ठूलो संख्यामा शव फेला पर्न थालेपछि स्थानीयस्तरमा शव व्यवस्थापनका लागि आवश्यक संरचना अभाव भएको थियो। तनहुँमा भेटिएका २२ शवमध्ये १२ शवको तनहुँ जिल्ला अस्पताल, जीपी कोइराला मेमोरियल अस्पताल तथा चितवनका स्वास्थ्य संस्थामा व्यवस्थापन गरिएको छ। बाँकी शव व्यवस्थापनका लागि पोखरासहित आसपासका क्षेत्रमा समन्वय भइरहेको छ।

गोरखामा त्रिशूली नदीको तटीय क्षेत्रमा भेटिएका १० शवसमेत पोखरा ल्याउने तयारी गरिएको छ। लगातार शव फेला पर्न थालेपछि कास्की जिल्ला प्रशासन कार्यालयले पोखरामा अधिकतम शव व्यवस्थापन गर्न सकिने संरचना र स्थानको तयारी थालेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव राख्ने व्यवस्था मिलाइएको छ भने आवश्यकता अनुसार पोखराका निजी अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा समेत क्षमताअनुसार शव व्यवस्थापन गर्ने तयारी गरिएको कास्की प्रशासनले पोखराक्लिकलाई जनाएको छ ।