पोखराको फिर्केखोलामा डोजरः फिर्केखोलाको खोलाघर भित्र बनेका संरचना हटाउन अभियान सुरु (भिडियो सहित)

-


     पोखरा क्लिक     
     जेठ १० गते २०८३ मा प्रकाशित


दीननाथ बराल

पोखरा, १० जेठ,

पोखरा महानगरपालिकाले फिर्केखोला को खोलाघर अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउने अभियान आज (आइतबार) देखि सुरु गरेको छ । महानगरले यसअघि दिएको ३५ दिने अल्टिमेटम सकिएसँगै खोलाको प्राकृतिक बहाव अवरुद्ध गर्ने स्थायी तथा अस्थायी संरचनामा डोजर चलाइएको हो ।

बजारको मध्यभाग हुँदै बग्ने फिर्केखोला २०८० साल असारमा गरिएको प्राविधिक नापजाँच प्रतिवेदनले फिर्केखोलाको खोलाघरभित्र १६० भन्दा बढी संरचना निर्माण भएको पोखरा महानगरका मेयर धनराज आचार्यले बताउनु भयो । वर्षायाममा डुबानको जोखिम बढ्दै गएको तथा खोलाको प्राकृतिक स्वरूप नै संकटमा परेकाले हटाउने अभियान अघि बढाइएको उहाँले बताउनुभयो । अभियानअन्तर्गत पोखरा–२ र १८ को सिमाना अँधेरीकुनादेखि वडा नं. ४ तर्फ, पोखरा–४ र ५ को सिमाना फिर्केपुल क्षेत्रदेखि वडा नं. ५ र ८ तर्फ तथा जिरोकिलोमिटर क्षेत्रबाट फेवातालतर्फ तीन स्थानबाट एकसाथ संरचना हटाउने कार्य सुरु गरिएको महानगरले जनाएको छ । सम्बन्धित वडा अध्यक्ष तथा जनप्रतिनिधिको नेतृत्वमा अभियान सञ्चालन भएको छ ।

महानगरले फिर्केखोलाको दायाँ–बायाँ ६ मिटर मापदण्ड कायम गर्दै सो क्षेत्रमा फुटट्रेल, साइकल लेन, मर्निङ वाक तथा हरित करिडोर निर्माण गर्ने योजना अघि सारेको छ । फिर्केखोलालाई प्राकृतिक, सुरक्षित र आकर्षक स्वरूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित अभियान सञ्चालन गरिएको मेयर आचार्यले उल्लेख गर्नुभयो । महानगरको सूचनापछि केही संघसंस्था तथा व्यवसायीले भने शनिबारदेखि नै आफ्ना संरचना आफैं हटाउन सुरु गरेका थिए । लायन्स क्लब अफ पोखरा फिस्टेलसिटी लगायतका संस्थाको भवन भत्काउन डोजर प्रयोग भएको छ ।

नापजाँच प्रतिवेदनअनुसार फिर्केखोलामाथि ९७ अस्थायी, ३५ स्थायी तथा २८ संस्थागत संरचना निर्माण गरिएको पाइएको छ । वडा नं. १८, २, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवाताल मा मिसिने फिर्केखोलाको कुल लम्बाइ करिब आठ किलोमिटर रहेको छ । महानगरले खोलाघरको दायाँ–बायाँ सीमांकन गर्दै सयौं सीमास्तम्भ समेत गाडिसकेको जनाएको छ ।