मुस्ताङमा काँग्रेसको जित दोहोरियो, योगेश गौचन थकाली पुनः निर्वाचित

-


     पोखरा क्लिक     
     फागुन २२ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २२ फागुन

हिमालपारिको जिल्ला मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका युवा नेता योगेश गौचन थकाली पुनः निर्वाचित भएका छन्। नेकपा ९एमाले० का उम्मेदवार इन्द्रधार बिष्टलाई १ हजार ८०६ मतान्तरले पराजित गर्दै थकालीले लगातार दोस्रो पटक विजय हासिल गरेका हुन्।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार थकालीले ३ हजार ३०७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बिष्टले १ हजार ८०३ मत पाएका छन्। यससँगै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जस्तै यस पटक पनि थकालीले एमाले उम्मेदवारलाई पराजित गर्दै आफ्नो जित दोहोर्याएका छन्। काँग्रेसका उम्मेदवार थकाली विजयी भएपछि जिल्ला काँग्रेसले भव्य स्वागतसहित बधाई ज्ञापन गरेको मुस्ताङ काँग्रेसका सभापति रोमी गौचनले पोखराक्लिकलाई जानकारी दिए। उनले यो जितलाई पार्टीका लागि सामान्य राजनीतिक परिणामका रूपमा लिएको बताउँदै भने, “हाम्रो लागि यो जित सामान्य जस्तै हो, यसको समिक्षा तपाईहरूले गर्नुहोस्।”

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी कमला लालचनले १६१ मत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार ङुटुक गुरुङ (टाइगर) ले १५१ मत प्राप्त गरेका छन्। यसैगरी उज्यालो नेपाल पार्टीका डां. सुरेन्द्र शेरचनले ८५ मत, आम जनता पार्टीका अजय विकले ९ मत तथा मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार यमबहादुर गुरुङले ३ मत प्राप्त गरेका छन्।

पराजित भएका एमाले उम्मेदवार इन्द्रधार बिष्टले सामाजिक सञ्जालमार्फत निर्वाचनमा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले आफ्नो आठ वर्षको राजनीतिक जीवनमा पहिलो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने अवसर मिल्नु नै ऐतिहासिक भएको उल्लेख गर्दै सबै समर्थक र शुभेच्छुकलाई धन्यवाद दिएका छन्। मुस्ताङका पाँच स्थानीय तहका ३९ मतदान केन्द्रमा कुल ११ हजार ३२८ मतदाता रहेका थिए। तीमध्ये ६ हजार २९८ मत खसेको थियो, जुन करिब ५६।४७ प्रतिशत मतदान हो। निर्वाचन कार्यालयका अनुसार कुल मतमध्ये १०७ मत बदर भएको छ।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि योगेश गौचन थकालीले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९१८ मतान्तरले पराजित गर्दै विजयी भएका थिए। उक्त निर्वाचनमा थकालीले ३ हजार ९९६ मत प्राप्त गरेका थिए। यस पटक पनि विजय हासिल गर्दै उनले मुस्ताङमा आफ्नो राजनीतिक पकड कायम राखेका छन्। तष्विरः शुन्दरकुमार थकाली