
दीननाथ बराल,
पोखरा ११, भदौं,
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको अध्यक्षमा पहिलोपटक महिला अध्यक्षमा निर्वाचित हुनु भएको छ । नाट्टा गण्डकीको बुधबार पोखरामा सम्पन्न भएको ३१औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनले सङ्गीता पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको निर्वाचन समितिले पोखराक्लिकलाई जनाएको छ ।
अध्यक्ष पदमा पौडेलले ९३ मत प्राप्त गर्दै प्रतिस्पर्धी कमला गिरीलाई ४४ मतले पराजित गर्नुभयो । गिरीले ४९ मत प्राप्त गर्नुभयो । पौडेलले नाट्टा गण्डकीमा यसअघि प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । पर्यटन तथा ट्राभल व्यवसायमा लामो समयदेखि सक्रिय पौडेल करिब दुई दशकदेखि नाट्टामा आबद्ध हुनुहुन्छ । उहाँ नेपाल टीका ट्राभल्स प्रालि तथा टीका रिसोर्टकी सञ्चालक समेत हुनुहुन्छ ।
अध्यक्षमा निर्वाचित भएपछि पौडेलले नाट्टा गण्डकीलाई पर्यटन व्यवसायीको साझा संस्थाका रूपमा थप प्रभावकारी बनाउँदै पोखराको पर्यटन प्रवर्धन, व्यवसायीको हकहित र पर्यटन क्षेत्रका समसामयिक समस्या समाधानका लागि सक्रिय भूमिका खेल्ने जनाउनु भयो । अधिवेशनबाट प्रथम उपाध्यक्षमा राजेश पहारी निर्वाचित हुनुभयो । पहारीले ८० मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी चेतबहादुर कार्कीले ६६ मत प्राप्त गर्नुभयो । द्वितीय उपाध्यक्षमा विद्याराज आचार्य निर्विरोध निर्वाचित हुनुभयो ।
त्यस्तै, महासचिवमा ताराप्रसाद गौतम निर्वाचित हुनुभयो। सचिवमा सुवास पहारीले ८४ मत प्राप्त गरी विजयी हुनुभयो। कोषाध्यक्षमा छविरमण पौडेलले ७४ विजयी हुनु भयो । सहकोषाध्यक्षमा पदमराज आचार्य ८७ मत प्राप्त गरी निर्वाचित हुनुभयो । कार्यसमिति सदस्यमा अशोककुमार क्षेत्री, मिलन ढकाल, विकास निरौला, रामचन्द्र घिमिरे र सोमनाथ अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । नाट्टा गण्डकीमा हाल १६२ वटा टुर तथा ट्राभल्स कम्पनी आबद्ध रहेको निवर्तमान अध्यक्ष किशोर दाहालले बताउनु भयो ।
पर्यटन विकासमा सहकार्य आवश्यक
अधिवेशनलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन विकास र प्रवर्धनका लागि स्थानीय सरकार र पर्यटन व्यवसायी बीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले पर्यटन व्यवसायीलाई आचारसंहिता र पेसागत मर्यादा कायम राख्न आग्रह गर्दै पोखराको पर्यटनलाई लेकसाइडमा मात्र सीमित रहेको बुझाइ परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख आचार्यले पोखरा घरमा रहेको पर्यटन सूचना केन्द्रमा नेपाली, अङ्ग्रेजी र हिन्दी भाषा बोल्न सक्ने सहजकर्ताको व्यवस्था गरिएको जानकारी दिनुभयो।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले पर्यटन बहुआयामिक क्षेत्र भएकाले यसको विकासका लागि प्रशासन तथा सुरक्षा निकायबाट पर्यटन व्यवसायीलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा नाट्टाका केन्द्रीय अध्यक्ष भरतजङ्ग पाण्डे, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेल, पूर्व बोर्ड सदस्य तथा पर्यटन व्यवसायी बासुदेव त्रिपाठी, नाट्टा कोशी प्रदेशका पुण्यप्रसाद भट्टराई, मधेस प्रदेशका संस्थापक अध्यक्ष मोहन शर्मा, लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापा, सुदूरपश्चिम प्रदेशका पदमसिंह, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी लगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिनुभयो । यसैबिच, अधिवेशनकै अवसरमा यस वर्षको ‘मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कार’ स्याङ्जाको पुतलीबजार नगरपालिका–७ का सुजन थापालाई प्रदान गरिएको छ ।
जिरो पोइन्ट ट्राभल्स एन्ड टुर्सका वरिष्ठ टिकटिङ अफिसर थापालाई नगद १० हजार रुपैयाँ, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।
नाट्टा गण्डकीका पूर्वअध्यक्ष सञ्जयकान्त सिग्देलले आफ्नी माता मनोहरा सिग्देलको स्मृतिमा एक लाख ११ हजार रुपैयाँको अक्षयकोष स्थापना गरी उक्त पुरस्कारको सुरुवात गर्नुभएको हो । नाट्टा गण्डकीमा आबद्ध सदस्य कम्पनीमा लामो समयदेखि कार्यरत एक कर्मचारीलाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ । कार्यक्रममा नाट्टा गण्डकीका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेल, नेपाल टीका ट्राभल्स प्रालिका सञ्चालक टीका पौडेल र तिलिचो टुर्स एन्ड ट्राभल्सका सञ्चालक नरेश भट्टराईलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।





