पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीको अवधारणा सार्वजनिक, पुष्पलालको योगदान स्मरण

-


     पोखरा क्लिक     
     श्रावण ९ गते २०८३ मा प्रकाशित


पोखरा,

मार्क्सवादी अध्ययन स्रोत केन्द्र, पोखराको आयोजनामा सम्पन्न “पुष्पलाल र आजको नेपाली कम्युनिस्ट आन्दोलन” विषयक अन्तरक्रिया गोष्ठीमा चर्चित वामपन्थी नेता गोपाल किरातीले नेपालको राजनीतिक प्रणालीमा बहुदलीय निर्वाचन प्रणालीभित्र बहुवर्गीय निर्वाचन प्रणाली विकास गर्नुपर्ने अवधारणा प्रस्तुत गर्नुभएको छ।

कार्यक्रममा बोल्दै उहाँले नेपालमा समाजवादी क्रान्ति दुई चरणमा सम्पन्न हुने धारणा राख्दै पहिलो चरणमा बहुवर्गीय निर्वाचन प्रणाली उपयुक्त विकल्प हुन सक्ने बताउनुभयो। उहाँका अनुसार मजदुर, किसान र पुँजीपति वर्गको जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने गरी संघीय संसद्को प्रतिनिधि सभा गठन गर्न सकिनेछ। उहाँले प्रस्तावित अवधारणाअनुसार जुनसुकै राजनीतिक दलबाट निर्वाचित भए पनि संसद्मा २० प्रतिशत मजदुर, ६२ प्रतिशत किसान र १८ प्रतिशत पुँजीपति वर्गका प्रतिनिधिको उपस्थिति रहने व्यवस्था गर्न सकिने धारणा व्यक्त गर्नुभयो। पुष्पलालको योगदान स्मरण गर्दै किरातीले नेपालमा मार्क्सवादी विचारधाराको प्रचार–प्रसार, जनवादी क्रान्तिको कार्यदिशा निर्माण, सशक्त राजनीतिक आन्दोलनको विकास, राष्ट्रिय स्वाधीनताको रक्षा तथा जुझारु किसान आन्दोलन निर्माणमा पुष्पलालको ऐतिहासिक भूमिका रहेको बताउनुभयो। विषम राजनीतिक परिस्थितिका बीच पनि पुष्पलालले क्रान्तिकारी विचार, सिद्धान्त र झण्डा कहिल्यै नछाडेको उल्लेख गर्दै उहाँप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्नुभयो।

किरातीले प्रस्तुत गर्नुभएको दुई पृष्ठीय अवधारणा पत्रमाथि सहभागी बौद्धिक व्यक्तित्वहरूले टिप्पणी, सुझाव तथा जिज्ञासा राखेका थिए। टिप्पणी गर्नेहरूमा रामराज रेग्मी, नारायण परिश्रमी, लोकबहादुर थापा, परशुराम कोइराला, बिन्दु सापकोटा, नारायण अधिकारी, चूडामणि अधिकारी, भीम रानाभाट, गहेन्द्रेश्वर कोइरालालगायत रहनुभएको थियो। उहाँहरूले पुष्पलालप्रति सम्मान व्यक्त गर्दै नेपाली कम्युनिस्ट आन्दोलनमा उहाँले पुर्‍याउनुभएको विशिष्ट योगदानको चर्चा गर्नुभएको थियो। स्रोत केन्द्रका अध्यक्ष झलकपाणि तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रारम्भिक मन्तव्य राख्दै उहाँले पुष्पलालको वैचारिक योगदान, गोपाल किरातीको राजनीतिक व्यक्तित्व तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै अतिथि र सहभागीलाई स्वागत गर्नुभएको थियो।संस्थाका उपाध्यक्ष दुर्गा भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा पोखरामा क्रियाशील विभिन्न कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।