पोखराको दिगो पर्यटनका लागि सबै पर्यटन सम्बद्ध संघ–संस्थाबीच एकीकृत प्रयास आवश्यक छः बोर्ड सदस्य पोखरेल

-


     पोखरा क्लिक     
     श्रावण ७ गते २०८३ मा प्रकाशित


पोखरा, ७ साउन,

नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी वोर्ड सदस्य सन्तोष पोखरेलले पोखरासहित समग्र नेपालको दिगो पर्यटन विकासका लागि सबै पर्यटन सम्बद्ध संघ–संस्थाबीच एकीकृत प्रयास अपरिहार्य रहेको बताउनुभएको छ। निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा उहाँले जोड दिनुभयो।

पोखरा पर्यटन परिषद्ले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै बोर्ड सदस्य पोखरेलले पर्यटन क्षेत्रका साझा समस्या, चुनौती र सम्भावनालाई एउटै दृष्टिकोणबाट सम्बोधन गर्न सके मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने बताउनुभयो। उहाँले नेपाल पर्यटन बोर्डको मूल जिम्मेवारी अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रभावकारी पर्यटन प्रवर्द्धन गर्नु भएकाले पूर्वाधार निर्माणभन्दा विदेशी पर्यटक भित्र्याउने अभियान, अन्तर्राष्ट्रिय प्रचार–प्रसार तथा स्रोत बजारमा नेपालको उपस्थिति विस्तारमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो।

उहाँले पर्यटन व्यवसायी तथा विभिन्न संघ–संस्थाले आफूलाई दिएको विश्वास र अपनत्वले थप जिम्मेवार बनाएको उल्लेख गर्दै पर्यटन क्षेत्रका साझा मुद्दालाई बोर्डमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। बोर्ड सदस्य पोखरेलले अहिले नेपालको प्रमुख आवश्यकता धेरैभन्दा धेरै विदेशी पर्यटक भित्र्याउनु भएको बताउँदै पोखराबाट विभिन्न संस्थाले छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गर्नुको सट्टा साझा रणनीति र अवधारणासहित अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत हुन सके त्यसले अझ प्रभावकारी परिणाम दिने बताउनुभयो। उहाँका अनुसार सरकारले पनि पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै विदेशी ब्लगर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधि तथा पर्यटन व्यवसायीलाई नेपाल भ्रमण गराउने रणनीतिमा काम गरिरहेको छ। पोखरालाई ‘वेलनेस टुरिजम’को अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले यससम्बन्धी निजी क्षेत्रबाट ठोस योजना तथा परियोजना आए नेपाल पर्यटन बोर्डमार्फत आवश्यक सहजीकरण गरिने जानकारी दिनुभयो।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गर्न विदेश केन्द्रित प्रवर्द्धनात्मक कार्यक्रम बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले पोखराबाट दुबईमा हुन लागेको अन्तर्राष्ट्रिय उडानले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण अवसर सिर्जना गर्ने भएकाले त्यसको प्रभावकारी प्रचार–प्रसारमा सबै सरोकारवाला एकजुट हुनुपर्ने बताउनुभयो। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन क्षेत्रको दिगो विकासका लागि नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रबीचको सहकार्यलाई अझ परिणाममुखी बनाउनुपर्ने धारणा राख्नुभयो। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले गण्डकी प्रदेशबाट नेपाल पर्यटन बोर्डको कार्यकारी समिति सदस्यमा नियुक्त हुनुभएका सन्तोष पोखरेललाई प्रदेश कार्यालयमा स्वागत गर्दै उहाँसहित सम्पूर्ण नवनियुक्त कार्यकारी समिति सदस्यहरूको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। उहाँले बोर्ड र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेल, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य तथा पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले पर्यटन क्षेत्रका साझा चुनौती समाधान गर्न नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी पर्यटन व्यवसायीहरूले पछिल्लो समय नेपाल पर्यटन बोर्ड पर्यटन प्रवर्द्धनभन्दा पूर्वाधार निर्माणका काममा बढी केन्द्रित भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले बोर्डले आफ्नो मूल जिम्मेवारीअनुसार अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रभावकारी ब्रान्डिङ, विदेशी पर्यटक आकर्षित गर्ने अभियान तथा नयाँ स्रोत बजार विस्तारमा थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।कार्यक्रममा पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा व्यवसायीहरूको सहभागिता रहेको थियो।