पोखरालाई वेलनेस पर्यटनको केन्द्र बनाउन बहस सुरु भएको छ ः बोर्ड सदस्य पोखरेल (भिडियो सहित)

-


     पोखरा क्लिक     
     श्रावण ९ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ९ साउन,

नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरालाई नेपालकै वेलनेस (आरोग्य) पर्यटनको केन्द्रका रूपमा विकास गर्न बहस सुरु भएको बताउनु भएको छ । आज (शनिबार) पोखरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले पोखरा प्राकृतिक सौन्दर्य, आतिथ्य (हस्पिटालिटी), वेलनेस तथा आरोग्य पर्यटनको उच्च सम्भावनालाई विश्वसामु स्थापित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्दै वेलनेस पर्यटनको केन्द्रका रूपमा विकास गर्न बहस सुरु भएको बताउनु भएको हो ।

पोखरा नेपालको पर्यटन राजधानी भएकाले यहाँ पर्यंटनको धेरै सम्भावना रहेको सदस्य पोखरेलको दाबी छ । पोखरा तथा यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्र, सरोकारवाला निकाय र सञ्चारकर्मीबाट सुझाव संकलन गरिएको जानकारी उहाँले प्राप्त महत्वपूर्ण सुझावलाई कार्यान्वयनका लागि सम्बन्धित निकायमा विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पोखरेलले नेपाल पर्यटन बोर्डमा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्न आवश्यक समसामयिक प्रचार–प्रसार सामग्रीको अभाव रहेको उल्लेख गर्नुभयो । नयाँ प्रविधिको उपयोग गर्दै भिडियो, अडियो तथा डिजिटल प्रवद्र्धन सामग्री तयार गरी विश्व बजारमा नेपालको पर्यटन प्रभावकारी रूपमा प्रचार गर्न आवश्यक भएको उहाँले जनाउनु भयो । नयाँ पर्यटकीय गन्तव्यको खोजी, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र प्रवद्र्धनलाई पनि बोर्डले प्राथमिकतामा राखेको सदस्य पोखरेलले जनाउनु भयो ।

बोर्डको आगामी बजेटबारे उहाँले चालु आर्थिक वर्षमा नयाँ पूर्वाधार निर्माणका योजनाभन्दा पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइने बताउनु भयो । बहुवर्षीय योजनाअन्तर्गत सञ्चालनमा रहेका तथा एक–दुई वर्षभित्र सम्पन्न हुने आयोजनालाई भने निरन्तरता दिइने र आवश्यक बजेट सुनिश्चित गरिने उनले स्पष्ट पार्नुभयो । “अहिले बोर्डको बजेट पारित भइसकेको छैन। तत्काल बजेट तयार गर्ने प्रक्रियामा छौँ, हाल वोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) समेत नियुक्त नभएको अबस्था रहेको छ । ”नेपाल पर्यटन बोर्डले विगतमा विभिन्न प्रवद्र्धनात्मक भ्रमण (प्रमोशनल टुर) सञ्चालन गरे पनि त्यसलाई प्रभावकारी बनाउन आवश्यक गुणस्तरीय प्रचार सामग्रीको अभाव रहेको सदस्य पोखरेलको भनाई छ । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै हालै कार्यकारी सदस्यमा नियुक्त हुनु भएका होटल व्यवसायी तथा नाट्टा गण्डकीका पूर्वअध्यक्ष पोखरेलले आफू सरकार र निजी क्षेत्रबीच समन्वयकारी पुलको भूमिका निर्वाह गर्ने बताउनु भयो । पोखराका पत्रकार विजय नेपाल, दिपक परियार, कृष्ण दवाडी, गौरव त्रिपाठी, दीननाथ बराल, पर्यटन विज्ञ दीपेन्द्र पहारी लगायतले पोखराबाट नियमित अन्तराष्ट्रिय हवाई उडानको सुनिश्चित गर्न, पोखरा क्षेत्रको दिगो पर्यटनको लागि छिमेकी मुलुकदेखि विश्व बजारमा आवश्यक प्रचार प्रसार तथा प्रबद्र्धन गर्न, पोखरा क्षेत्रमा हुने विभिन्न मेला महोत्सव देखि खेलकुद प्रतियोगितालाई थप प्रमोशन गर्न समेत सुझाव दिनुभएको थियो ।

यसैबिच पोखरा प्रबद्र्धन केन्द्रले समेत उहाँलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको छ । केन्द्रका अध्यक्ष दीननाथ बरालले सदस्य पोखरेललाई खादा लगाउदै बधाई ज्ञापन सहित शुभकामना व्यक्त गर्नु भएको थियो ।