पोखराकी अष्टाङ्ग योग प्रशिक्षक संगीता मिस नेपाल वर्ल्ड २०२६ को फाइनलमा, भोटका लागि आग्रह

-


     पोखरा क्लिक     
     श्रावण ८ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरामा जन्मिएर यहीँबाट विद्यालय शिक्षा पूरा गरेकी प्रमाणित अष्टाङ्ग योग प्रशिक्षक तथा मानसिक स्वास्थ्य र सचेत जीवनशैलीकी अभियन्ता संगीता पौडेल मिस नेपाल वर्ल्ड २०२६ को फाइनलमा प्रवेश गरेकी छन्। प्रतियोगी नम्बर ५ का रूपमा अन्तिम प्रतिस्पर्धामा पुगेकी पौडेलले आफ्नो गृहनगर पोखरासहित देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली र शुभेच्छुकहरूलाई भोटमार्फत साथ दिन आग्रह गरेकी छन्। प्रतियोगिताको सार्वजनिक भोटिङ जुलाई २८ सम्म खुला रहनेछ भने ग्रान्ड फिनाले अगस्ट १ मा आयोजना हुनेछ।

सन् २००२ डिसेम्बर १ मा पोखरामा जन्मिएकी पौडेलले पोखरास्थित डायमन्ड हायर सेकेन्डरी स्कुलबाट विद्यालय शिक्षा पूरा गरेकी हुन्। त्यसपछि उनले काठमाडौंस्थित सेन्ट जेभियर्स कलेजबाट मनोविज्ञान विषयमा स्नातक अध्ययन सम्पन्न गरेकी छन्। पोखराको शान्त प्राकृतिक वातावरण र स्वस्थ जीवनशैलीबाट प्रेरित पौडेल मानसिक स्वास्थ्य, योग, माइन्डफुलनेस तथा समग्र स्वास्थ्य प्रवर्द्धनका क्षेत्रमा सक्रिय छिन्। प्रमाणित अष्टाङ्ग योग प्रशिक्षकसमेत रहेकी उनी स्वस्थ शरीर, सन्तुलित मन र उद्देश्यपूर्ण जीवनलाई वास्तविक समृद्धिको आधार मान्छिन्।

शाकाहारी जीवनशैली अपनाउँदै आएकी पौडेल जनावरप्रतिको माया, वातावरणीय जिम्मेवारी र सचेत जीवनशैलीप्रतिको प्रतिबद्धताले आफूलाई निरन्तर प्रेरित गर्ने बताउँछिन्। दैनिक जीवनमा गरिने साना सचेत निर्णयले पनि समाज र वातावरणमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनको विश्वास छ। सामाजिक सञ्जाल तथा विभिन्न सार्वजनिक मञ्चमार्फत उनले मानसिक स्वास्थ्य, समग्र कल्याण, दिगो जीवनशैली र करुणामूलक जीवनका विषयमा आवाज उठाउँदै आएकी छन्। युवापुस्तालाई सचेत, जिम्मेवार र उद्देश्यपूर्ण जीवनतर्फ प्रेरित गर्नु आफ्नो प्रमुख उद्देश्य रहेको पौडेलको भनाइ छ।

मिस नेपाल वर्ल्डको फाइनलमा प्रवेश गरेपछि आफूले थप जिम्मेवारी महसुस गरेको उनले बताइन्। सौन्दर्य प्रतियोगिता बाह्य आकर्षणको प्रतिस्पर्धा मात्र नभई व्यक्तित्व, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र सकारात्मक प्रभाव प्रस्तुत गर्ने महत्वपूर्ण मञ्च भएको उनको धारणा छ। आफ्नो जन्मभूमि पोखराको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतिस्पर्धाको फाइनलमा पुग्नु गौरवको विषय भएको उल्लेख गर्दै पौडेलले पोखरेलीहरूबाट विशेष साथ र समर्थनको अपेक्षा गरेकी छन्। यस वर्षको मिस नेपाल वर्ल्ड २०२६ को उपाधिका लागि देशभरबाट छनोट भएका प्रतिभावान प्रतिस्पर्धीबीच अन्तिम प्रतिस्पर्धा हुँदैछ। विजेताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।