
पोखरा, ६ साउन,
नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुने एफएनजे ग्लोबल मिडिया सम्मेलन २०२६ मा सहभागी हुन पोखराका दुई पत्रकार जापान प्रस्थान गर्ने भएका छन्। महासंघका गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल र कास्की शाखा अध्यक्ष माधव बराल उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जापान जान लागेका हुन्।
जापान शाखाको कार्यसमिति बैठकले आगामी जुलाई २५, २०२६ मा ग्लोबल मिडिया सम्मेलन आयोजना गर्ने निर्णय गरिसकेको छ। जुलाई २३ देखि २६ सम्म (३ रात ४ दिन) सञ्चालन हुने यस कार्यक्रमलाई थप व्यवस्थित र भव्य बनाउन महासंघको केन्द्रीय नेतृत्वका साथै विभिन्न प्रदेश र जिल्ला अध्यक्षहरूको समेत सहभागिता रहने जनाइएको छ।
सम्मेलनमा गण्डकी र कास्कीका नेतृत्वबाहेक काभ्रे शाखा अध्यक्ष विनोद न्यौपाने, मकवानपुर शाखा अध्यक्ष बालकृष्ण अधिकारी लगायत केन्द्रीय समितिको टोली समेत जुट्नेछ। नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ(ुगोरखाली) ले महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई औपचारिक निमन्त्रणा पत्र पठाउँदै कार्यक्रमबारे जानकारी गराएका हुन्। सम्मेलन समापनलगत्तै महासंघको केन्द्रीय समिति बैठक पनि जापानमै सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। सन् २०११ मा स्थापित जापान शाखाले यस ऐतिहासिक कार्यक्रमलाई सफल बनाउन केन्द्रीय समितिबाट पूर्ण सहयोग र समन्वयको अपेक्षा राखेको छ।




