पोखरा २२ (पुम्दी भुम्दी) का सबै घरमा इन्डक्सन चुलो वितरण हुने

-


     पोखरा क्लिक     
     श्रावण ६ गते २०८३ मा प्रकाशित


दिननाथ बराल,

पोखरा, ६ साउन,

पोखरा महानगरपालिका वडा नं.२२ (पुम्दी भुम्दी) का सबै घरमा इन्डक्सन चुलो वितरण हुने भएको छ । स्वदेशमा उत्पादन भएको बिद्युतको प्रयोग सहित आयातित खानापकाउने ग्याँसलाई प्रतिस्थापन गर्ने उद्धेश्यले वडाले चालु आर्थिक बर्ष २०८३÷०८४ का वडाका सबै घरमा इन्डक्सन चुलो वितरण गर्ने योजना अघि सारेको वडाध्यक्ष हिमलाल बरालले पोखराक्लिकलाई बताउनु भयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको लागत साझेदारीमा ‘एक घर, एक इन्डक्सन चुलो’ अभियान सञ्चालन गर्ने भएको अध्यक्ष बरालले जनाउनु भयो । यस कार्यक्रमका लागि वडा कार्यालयले चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कार्यक्रम ३०–७० लागत साझेदारीको आधारमा सञ्चालन हुनेछ, जसअनुसार उपभोक्ताले चुलोको मूल्यको ३० प्रतिशत रकम मात्र व्यहोर्नुपर्नेछ भने बाँकी ७० प्रतिशत लागत वडा कार्यालय तथा साझेदार संस्थाबाट व्यवस्थापन गरिनेछ । वितरण गरिने प्रत्येक इन्डक्सन चुलोको मूल्य करिब ४ हजार १०० रुपैयाँ रहने जनाइएको छ ।

अध्यक्ष बरालका अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट १ हजार थान र वडा कार्यालयबाट थप १ हजार थान गरी यस वर्ष कुल २ हजार थान इन्डक्सन चुलो वितरण गर्ने लक्ष्य राखिएको छ । वडामा करिब २ हजार २ सय घरधुरी रहे पनि बसाइँसराइका कारण करिब दुई सय घरधुरी अन्यत्र सरेका कारण हाल करिब २ हजार घरधुरीलाई कार्यक्रमबाट समेट्न सकिने अपेक्षा गरिएको छ । आवश्यक परे थप चुलोको व्यवस्था आन्तरिक स्रोतबाट गरिने पनि उहाँले जनाउनु भयो । गत वर्ष वडा कार्यालयले पाइलट परियोजनाका रूपमा उल्लेरी क्षेत्रमा ५० घरधुरीलाई इन्डक्सन चुलो वितरण गरेको थियो । रोटरी क्लब अफ न्युरोडको सहकार्यमा सञ्चालन गरिएको उक्त परीक्षण सफल भएपछि यस वर्ष सम्पूर्ण घरधुरीमा कार्यक्रम विस्तार गर्न लागिएको वडा अध्यक्ष बरालले जानकारी दिनुभयो ।

इन्डक्सन चुलोको प्रयोगले एलपी ग्यासको खपत उल्लेख्य रूपमा घटुने वडा सचिव अमृत लामिछानेले बताउनु भयो । आयातित एलपी ग्यासमा निर्भरता कम गर्दै स्वदेशमै उत्पादन भएको विद्युत ऊर्जाको अधिकतम उपयोग गर्ने, नवीकरणीय ऊर्जाको प्रवद्र्धन गर्ने तथा वातावरणीय प्रदूषण न्यूनीकरणमा योगदान पु¥याउने उद्देश्यले यो अभियान अघि बढाइएको उहाँले जनाउनु भयो । साथै भविष्यमा कार्बन क्रेडिट (कार्बन ट्रेड) प्राप्त गर्न सक्ने आधार तयार गर्ने लक्ष्य समेत रहेको वडाले जनाएको छ ।

यसैबिच, इन्डक्सन चुलो आधुनिक, सुरक्षित र ऊर्जा दक्ष उपकरण भए पनि यसको सही प्रयोग आवश्यक हुन्छ । विशेषज्ञहरूका अनुसार इन्डक्सन चुलोलाई एलपी ग्यासजस्तै अत्यन्त लामो समयसम्म निरन्तर उच्च तापमा चलाउनु उपयुक्त हुँदैन । लामो समय प्रयोग गर्दा बीच–बीचमा केही समय विश्राम दिनु राम्रो मानिन्छ । इन्डक्सन चुलोको आयु बढाउन उपयुक्त चुम्बकीय धातुका भाँडा प्रयोग गर्ने, आवश्यकता अनुसार तापक्रम नियन्त्रण गर्ने, नियमित रूपमा चुलो सफा गर्ने तथा स्थिर विद्युत आपूर्तिको व्यवस्था गर्नुपर्ने सुझाव दिइन्छ । नेपालमा विद्युत उत्पादन वृद्धि र लोडसेडिङको अन्त्यसँगै इन्डक्सन चुलोको प्रयोग तीव्र रूपमा बढिरहेको छ । एलपी ग्यासको मूल्यवृद्धि र आपूर्ति समस्याको विकल्पका रूपमा इन्डक्सन चुलो आधुनिक नेपाली भान्साको महत्वपूर्ण हिस्सा बन्दै गएको छ । फोटो डिजाईन एआई जेनेरेटेड ।