एआईमार्फत पाँच दिने ब्रान्डिङ तथा मार्केटिङ तालिम सुरु

-


     पोखरा क्लिक     
     जेठ २१ गते २०८३ मा प्रकाशित


पोखरा, २१ जेठ,

पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रद्वारा व्यवसायी, उद्योगी तथा स्टार्टअप सञ्चालकहरूका लागि पाँच दिने “एआई प्रविधिद्वारा ब्रान्डिङ तथा मार्केटिङ” तालिम सुरु भएको छ । डिजिटल बजार प्रवद्र्धन, ब्रान्ड विकास तथा कृत्रिम बुद्धिमत्ता (ब्क्ष्) को प्रभावकारी प्रयोगमार्फत व्यवसाय विस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

तालिम उद्घघाटन कार्यक्रममा पोखरा महानगरपालिकाको कृषि प्रवद्र्धन महाशाखाका प्रमुख मनोहर कडरियाले निजी क्षेत्रको सशक्तीकरण तथा परम्परागत व्यवसायिक अभ्यासभन्दा नवप्रवर्तनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए। उनले एआई प्रविधिको प्रयोगमार्फत मार्केटिङ, डिजिटल प्रवद्र्धन तथा गुणस्तरीय उत्पादन र सेवाको विस्तार सम्भव भएको उल्लेख गर्दै प्रविधिकै कारण स्थानीय उत्पादनहरू अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सफल भएको बताए । कडरियाले आफ्ना उत्पादन तथा सेवाको प्रभावकारी बजारीकरण र ब्रान्डिङ गर्न सिक्न व्यवसायीहरूलाई आग्रह गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन, कृषि, उद्योग र सूचना प्रविधिलाई एकसाथ अघि बढाउनुपर्ने धारणा राखे। उनले तालिमले समय र लागत बचतका साथै व्यवसायलाई चरणबद्ध रूपमा आधुनिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

पोखरा महानगरपालिकाका ब्यवसाय प्रवद्र्धन कार्यकारी प्रमुख नवराज अधिकारीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै प्रविधिमैत्री व्यवसाय विकास गर्न सहभागीहरूलाई सुझाव दिए। उनले समयानुकूल व्यवसाय सञ्चालनका लागि डिजिटल माध्यमको प्रयोग अपरिहार्य बन्दै गएको बताए। मुख्य प्रशिक्षक पुष्कर शर्माले तालिमको प्रारम्भिक चरणमा मार्केटिङ र ब्रान्डिङका आधारभूत अवधारणासँगै एआईको प्रयोग सिकाइने जानकारी दिए। उनका अनुसार ग्राहकको मनोविज्ञान, उत्पादन तथा सेवाको प्रभावकारी प्रस्तुति, विज्ञापन निर्माण, लेबल डिजाइन तथा डिजिटल प्रवद्र्धनका विभिन्न पक्षमा व्यावहारिक प्रशिक्षण प्रदान गरिने बताए ।

तालिममा एआईको परिचय, सामाजिक सञ्जाल मार्केटिङ, कन्टेन्ट निर्माण, डिजिटल ब्रान्डिङ रणनीति, ग्राफिक डिजाइन, भिडियो मार्केटिङ तथा ग्राहक संलग्नता लगायतका विषय समेटिएका छन्। पाँच दिनसम्म सञ्चालन हुने तालिममा ६० जना विभिन्न क्षेत्रका व्यवसायी सहभागि रहेका छन् । पोखरा महानगरपालिका क्षेत्रभित्रका व्यवसायी, उद्योगी तथा स्टार्टअप सञ्चालकहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस तालिमले स्थानीय व्यवसायको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । व्यवसाय प्रवद्र्धन केन्द्रले पछिल्ला वर्षहरूमा उद्यमशीलता, डिजिटल मार्केटिङ तथा सीपमूलक तालिमहरू सञ्चालन गर्दै स्थानीय उद्यम तथा व्यवसायको विकासमा निरन्तर सहयोग गर्दै आएको छ ।