मानव सेवा आश्रमको महायज्ञबाट करिब २ करोड आर्थिक संकलन, २ करोड ६५ लाख सहयोगको घोषणा

-


     पोखरा क्लिक     
     वैशाख २६ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २६ वैशाख,

मानव सेवा आश्रम पोखरा २५(हेमजा) मा आयोजित “श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २०८३” बाट करिब २ करोड १७ लाख रुपैयाँ आर्थिक संकलन भएको छ भने थप २ करोड ६५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा प्राप्त भएको छ । एक सातादेखि सञ्चालन भएको महायज्ञ शनिबार सम्पन्न भएसंगै उक्त सहयोग संकलन तथा सहयोग प्राप्त हुने वचन प्राप्त भएको महायज्ञका संयोजक अनिलकुमार शाहीले जानकारी दिनुभयो ।

महायज्ञ सफल बनाउन सहयोग गर्ने दाता, भक्तजन, संघसंस्था, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीप्रति उहाँले धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । आश्रमका अनुसार महायज्ञबाट संकलित रकम मानव सेवा आश्रम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्न गर्न, लक्ष्मीनारायण मन्दिर निर्माण, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा आश्रमको अक्षयकोष वृद्धि गर्न खर्च गरिनेछ ।

महायज्ञ अवधिभर विभिन्न दाता तथा शुभेच्छुकबाट उल्लेख्य सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । शुक्रबार मात्रै करिब ५० लाख रुपैयाँ संकलन भएको थियो भने महायज्ञको अन्तिम दिन शनिबार मात्रै करिब ६० लाख रुपैयाँ सहयोग प्राप्त भएको बताइएको छ । यसैबीच पोखराका उद्योगपति तथा समाजसेवी हरि पाण्डे तथा तुलसा पाण्डे दम्पतीले महायज्ञमा ५४ लाख ४४ हजार ४ सय ४२ रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो । उहाँहरूले आफ्नो वैवाहिक जीवनको ५९ औँ वर्षगाँठ मानवसेवा तथा धर्मकार्यमा समर्पित गर्दै उक्त सहयोग गर्नुभएको हो ।

आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार करिब १२ करोड रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माण कार्य हालसम्म करिब ६० प्रतिशत सम्पन्न भइसकेको छ । पोखरा महानगरपालिकाले पनि आश्रमलाई साढे २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको जनाएको छ । विगत १३ वर्षदेखि मानव सेवा आश्रमले बेसहारा, अशक्त, अभिभावकविहीन बालबालिका तथा सडकआश्रित नागरिकहरूको उद्धार, उपचार, संरक्षण र पुनःस्थापनामा काम गर्दै आएको छ । हाल देशका २३ जिल्लाका ३४ सेवा केन्द्रमार्फत करिब २ हजार २ सय जनालाई सेवा प्रदान भइरहेको आश्रमले जनाएको छ । पोखराका दुई केन्द्रमा मात्रै करिब ३ सय जना आश्रित रहेका छन् ।

आयोजकका अनुसार महायज्ञ आर्थिक संकलनमा मात्र सीमित नभई धार्मिक, सामाजिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यसहित सञ्चालन गरिएको हो । पोखरा महानगरपालिका बाहेक ६० लाख विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग गर्ने गरी महायज्ञमा घोषणा गरिएको मानव सेवा आश्रमका आशिस गौतमले बताउनु भयो । महायज्ञको प्रमुख वाचकको रुपमा भागवत भाष्कर कमलनयन गौतम रहनु भएको थियो ।