एमालेको गढ मानिने कास्कीमा प्रारम्भिक चरणमै रास्वपाको मतान्तर फराकिलो हुँदै

-


     पोखरा क्लिक     
     फागुन २२ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २२ फागुन,

एमालेको बलियो प्रभाव क्षेत्रका रूपमा चिनिँदै आएको कास्की जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित रूपमा फराकिलो अग्रता कायम गर्न सफल भएको छ । तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारले सुरुदेखि नै मतान्तर बढाउँदै लगेपछि कास्कीको राजनीतिक समीकरणमा नयाँ संकेत देखिन थालेको हो ।

पछिल्लो मतपरिणाम अनुसार कास्की–१ मा ११ हजार ८०५ मत गणना हुँदा रास्वपाका गणेश पौडेल ५ हजार ६५ मतसहित अग्रस्थानमा रहनु भएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बैनबहादुर क्षेत्रीले ३ हजार ९८ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका तिलक रानाभाटले २ हजार ६११ मत प्राप्त गर्नुभएको छ। नेकपाका राजकाजी गुरुङले २७६ मत प्राप्त गर्नुभएको छ भने ४७९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

कास्की–२ मा पनि रास्वपाका उम्मेदवार उत्तम पौडेलले मतान्तर बढाउँदै अग्रता कायम राख्नुभएको छ। सिंचाइँ कार्यालयमा भइरहेको मतगणनामा १७ हजार ५४० मत गणना हुँदा उहाँले १० हजार ३७ मत प्राप्त गर्नुभएको छ। नेकपा एमालेकी रश्मि आचार्य ३ हजार ६२६ मतसहित दोस्रो स्थानमा रहनु भएको छ भने नेपाली काँग्रेसका माधवप्रसाद बाँस्तोलाले १ हजार ८७३ मत प्राप्त गर्नुभएको छ। नेकपा ९एकीकृत समाजवादी० का हेमबहादुर थापा (किरण) ले ६०० मत ल्याउनुभएको छ। सो क्षेत्रमा ६९७ मत बदर भएको छ। यस्तै कास्की–३ मा पनि रास्वपाकी उम्मेदवार बिना गुरुङले उल्लेख्य अग्रता बनाउनु भएको छ। कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको मतगणनामा १५ हजार १४९ मत गणना हुँदा उहाँले ७ हजार ५९१ मत प्राप्त गर्नुभएको छ। नेपाली काँग्रेसका मनोज गुरुङले ३ हजार ६८५ मत ल्याउनुभएको छ भने नेकपा एमालेका दामोदर बैरागीले २ हजार १९५ मत प्राप्त गर्नुभएको छ। अन्य उम्मेदवारमध्ये नेकपा ९एकीकृत समाजवादी० का गोपाल गिरीले ३५९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुनप्रसाद खनालले ३७१ मत प्राप्त गर्नुभएको छ। सो क्षेत्रमा ६७५ मत बदर भएको छ।

कास्कीमा कुल ३ लाख ८ हजार ५७२ मतदाता रहेकोमा ६१।११ प्रतिशत अर्थात् १ लाख ८८ हजार ५२ जनाले मतदान गरेका थिए। कास्की–१ मा १ लाख १६ हजार ८७८ मतदाता रहेकोमा ७० हजार २३६ मत खसेको थियो। कास्की–२ मा ८४ हजार १३४ मतदाता रहेकोमा ६२।९० प्रतिशत अर्थात् ५२ हजार ९१९ जनाले मतदान गरेका थिए भने कास्की–३ मा १ लाख ७ हजार ५६० मतदाता रहेकोमा ६०।८१ प्रतिशत अर्थात् ६५ हजार ४०७ मत खसेको थियो। कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै समानुपातिकतर्फको मतगणना सुरु गरिने पोखराक्लिकलाई जानकारी दिनुभयो। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपानेका अनुसार जिल्लाका तीन फरक स्थानमा मतगणना भइरहेको छ। प्रारम्भिक चरणमै रास्वपाका उम्मेदवारहरूले मतान्तर फराकिलो बनाउँदै लगेपछि मतगणनास्थल वरपर अन्य दलका समर्थकहरूको उपस्थिति भने कम देखिएको छ। रास्वपाका केही समर्थक तथा स्थानीयबाहेक बाहिरी क्षेत्रमा खासै चहलपहल देखिएको छैन। मतगणना जारी रहेकाले अन्तिम परिणाम भने आउन बाँकी छ।