पोखरामा वसन्त महोत्सव विशेष सांस्कृतिक कार्यक्रम, नेपाल–चीन मित्रता सुदृढ गर्ने प्रतिबद्धता

-


     पोखरा क्लिक     
     माघ २८ गते २०८२ मा प्रकाशित


पोखरा,

मित्रराष्ट्र चीनको नयाँ वर्षका अवसरमा सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन राजधानी पोखरामा ‘वसन्त महोत्सव’ विशेष सांस्कृतिक कार्यक्रम हालै सम्पन्न भएको छ। कार्यक्रममा चिनियाँ कलाकारहरूले गीत, संगीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुतिमार्फत दर्शकलाई मन्त्रमुग्ध पार्नु भएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वसन्त पर्व संस्कृति र परम्पराको उत्सव मात्र नभई नेपाल र चीनबीचको मित्रता तथा आपसी सम्मानको प्रतीक भएको बताउनुभयो। उहाँले यस पर्वले दुई देशबीच शान्तिपूर्ण सहअस्तित्व, सहयोग र विश्वासको लामो इतिहासलाई जीवन्त बनाएको उल्लेख गर्नुभयो।मेयर आचार्यले आपसी समझदारी, सार्वभौमसत्ताको सम्मान तथा विकास र समृद्धिको साझा लक्ष्यमा आधारित नेपाल–चीन सम्बन्धलाई यस्ता सांस्कृतिक कार्यक्रमहरूले अझ मजबुत बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। वसन्त पर्वले एकता, पारिवारिक मूल्यमान्यता र सकारात्मक ऊर्जाको भावना विकास गर्ने उल्लेख गर्दै उहाँले कार्यक्रममा प्रस्तुत कला र संस्कृतिले पोखरेलीलाई चिनियाँ परम्परासँग अझ नजिक बनाएको बताउनुभयो।

चिनियाँ साझेदारहरूसँग पर्यटन, पूर्वाधार, शिक्षा, प्रविधि तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउन महानगरपालिका प्रतिबद्ध रहेको उहाँको भनाइ थियो। कार्यक्रममा चिनियाँ सिजाङ सांस्कृतिक संरक्षण तथा विकास संघका कार्यकारी निर्देशक लिउ झेङवेई, नेपालस्थित चिनियाँ दूतावासका कन्सुलर विभाग प्रमुख क्वइन वेइन्ची, पोखरा ओभरसिज चाइनिज एसोसिएसनका अध्यक्ष डान् ज्याङसौं लगायत महानगरपालिकासँग भगिनी सम्बन्ध कायम रहेका नगरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। पोखरामा आयोजना गरिएको वसन्त महोत्सवले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।