माछापुच्छ्रे गाउँसभा विनियोजन ऐन २०८२ संशोधन पारित, आत्मनिर्भरता र उत्पादनमुखी योजनामा जोड

-


     पोखरा क्लिक     
     पौष १४ गते २०८२ मा प्रकाशित


पुष १४, पोखरा,

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको गाउँसभा–१८ औँ अधिवेशन सोमबार सम्पन्न भएको छ। गाउँसभाले आर्थिक वर्ष २०८२र०८३ को सेवा र कार्यक्रम सञ्चालनका लागि आवश्यक विनियोजनमा संशोधन गर्दै ‘माछापुच्छ्रे गाउँपालिका, कास्कीको विनियोजन ऐन, २०८२’ बहुमतले पारित गरेको छ।

अधिवेशनको उद्घाटन गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले गरेका थिए। त्यसपछि उपाध्यक्ष सीता अधिकारीद्वारा प्रस्तुत संशोधन प्रस्तावमा सभा सदस्यहरूको बहुमत मिलेपछि ऐन तुरुन्त कार्यान्वयनमा लैजान मार्ग खुलेको हो। संशोधनसँगै सञ्चित कोषका केही रकम सेवा तथा विकास कार्यमा खर्च गर्न गाउँसभा सहमत देखिएको छ। “आर्थिक आवश्यकताअनुसार विनियोजन ऐन संशोधन अनिवार्य थियो,” उपाध्यक्ष अधिकारीले भनिन्, “यसले योजनाहरू सहज रूपमा अघि बढ्न सहयोग पुर्‍याउनेछ।” सभा सदस्यहरूले अधिवेशनमा उत्पादन र आत्मनिर्भरता विषयक सुझावहरू स्पष्ट रूपमा प्रस्तुत गरे। सभा सदस्य भरतराज अधिकारीले पछिल्लो समय बाँदर आतङ्कले खेतीयोग्य भूप्रयोगमा बाधा पुगेको बताउँदै वडास्तरबाट उत्पादनमुखी अभियान अगाडी बढाउनुपर्नेमा जोड दिए। “दुधमा जस्तै अन्य क्षेत्रमा पनि आत्मनिर्भरता सम्भव छ,” उनले भने, “के–के उत्पादन गर्न सकिन्छ भन्ने खोजी गर्दै वडालाई आत्मनिर्भर बनाउन पालिका लाग्नैपर्छ।” सभा सदस्य अप्सरा गौतमले वजेट विनियोजन राजनीतिक÷सूत्रगत पहुँचभन्दा समन्वय र प्राथमिकतामा आधारित हुनुपर्ने सुझाव दिइन्। त्यस्तै सदस्य गंगा रानाभाटले “गुनासो आएका पनि पालिकाले विकास निर्माणमा महत्त्वपूर्ण काम गरेको छ,” भन्दै कार्यान्वयनमा निरन्तरता आवश्यक रहेको उल्लेख गरिन्।

अधिवेशनको शून्य समयमा रामहरि गुरुङ, भरतराज अधिकारी, बावुराम भण्डारीले वडास्तरका समस्या, विकास अपुगता र प्राथमिक आवश्यकताबारे आवाज उठाए। जवाफमा अध्यक्ष मिनबहादुर गुरुङले सुझाव र छलफलका विषयहरूलाई यथासम्भव कार्यक्रममार्फत कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै भने—“शून्य समयमा उठेका समस्या कागजमै सीमित हुँदैनन्, हामी कार्यान्वयनतिर उन्मुख हुन्छौं।” माछापुच्छ«े गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले स्थानिय उत्पादन र गाउँमा आत्मनिभर तथा स्वरोजगार तर्फ पालिकाको ध्यान केन्द्रित हुने जनाउनु भयो ।