
पोखरा २२, असोज,
कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरे देउरालीमा अष्ट्रेलियाली संस्था वाइल्डर्नेस कम्युनिटीको सहयोगमा अत्याधुनिक एम्बुलेन्स सेवा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । करिब २६ लाख रुपैयाँ बराबरको उक्त एम्बुलेन्स सञ्चालनमा आएसँगै अन्नपूर्ण गाउँपालिकाका करिब १५ हजार स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

दुर्गम बस्तीमा आकस्मिक उपचारका लागि घण्टौँ पैदल वा निजी सवारीको भर पर्नुपर्ने अवस्था हट्दै अब समयमै उपचार उपलब्ध हुने विश्वास गरिएको छ । भदौरे माध्यमिक विद्यालय परिसरमा सोमबार आयोजित कार्यक्रममा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले वाइल्डर्नेस कम्युनिटीप्रति आभार व्यक्त गर्दै उक्त एम्बुलेन्स सेवाले गाउँको स्वास्थ्य क्षेत्रमा धेरै सहज हुने विश्वास व्यक्त गर्नुभयो । यसको सञ्चालन र मर्मत खर्च गाउँपालिकाले नै व्यहोर्ने उहाँले जनाउनु भयो ।

सो संस्थासँग भविष्यमा फोहर व्यवस्थापन, सरसफाइ र स्वास्थ्य विस्तारमा थप सहकार्य गर्ने अध्यक्ष केसीले प्रतिबद्धता जनाउनु भयो । विशेषगरी हालै सञ्चालनमा आएको अन्नपूर्ण आधारभूत अस्पतालका लागि एक्सरे मेसिन जस्ता उपकरण स्थापना गर्ने योजनामा पनि वाइल्डर्नेस कम्युनिटीसँग सहकार्य गरिने उहाँले जनाउनु भयो । वाइल्डर्नेस कम्युनिटीकी प्रमुख डा. श्याली नब्सले एम्बुलेन्स हस्तान्तरण गर्दै भनिन्, “हामीले यो एम्बुलेन्स सहयोग मात्र होइन, आत्मीय सम्बन्धको प्रतीकको रूपमा दिएका हौं, यसले धेरै ग्रामीणको जीवन बचाउनेछ ।”
उहाँका अनुसार संस्था सन् १९९८ देखि शिक्षा, स्वास्थ्य र सरसफाइ क्षेत्रमा सक्रिय छ भने २००५ यता महिला शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिँदै आएको छ। संस्थाले हालसम्म सयौँ विद्यार्थीलाई निःशुल्क पढाइ, विपन्न बालबालिकालाई छात्रावास सुविधा र हरेक वर्ष १०० अष्ट्रेलियन डलर बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको छ । विद्यालयका पूर्वप्रधानाध्यापक रामप्रसाद पौडेलले यो सहयोगलाई “गाउँको आशा र सहकार्यको प्रतीक” का रुपमा आफुहरुले लिएको जनाउनु भयो । एम्बुलेन्सलाई आपतकालीन उद्धार, नियमित स्वास्थ्य शिविर र विद्यालय स्वास्थ्य परीक्षणमा प्रयोग गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषि पौडेलले जनाउनु भयो । उहाँले भन्नुयो “यो अब गाडी होइन, जीवनरक्षाको साधन हो।”
समारोह वडाध्यक्ष आइन्दल गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन गुरुङ, प्रधानाध्यापक सिद्धिराज सुवेदी, कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, महिला समूह, बासिन्दा र अष्ट्रेलियाली अतिथिहरू सहभागी रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले राष्ट्रिय गानसहित स्वागत नृत्य प्रस्तुत गर्नु भएको थियो ।



