
पोखरा,२९ असार,
पोखरा महानगरपालिका–१३, आर्वा, कास्कीस्थित श्री रत्नपाण्डे माध्यमिक विद्यालयमा आइतबार १० हजार लिटर क्षमताको भूमिगत शुद्ध खानेपानी ट्याङ्की निर्माण कार्यको शुभारम्भ गरिएको छ। विद्यालयमा स्वच्छ पिउने पानीको दीर्घकालीन व्यवस्था गर्ने उद्देश्यले लायन्स क्लब अफ अन्नपूर्ण अन्तर्गत सेती गङ्गा लायन्स क्लबको तर्फबाट ट्याङ्की निर्माणका लागि रु २ लाख २५ हजार आर्थिक सहयोग प्रदान गरिएको हो।
साथै, बेलायतबाट आएका २६ जना स्वयंसेवी (भोलिन्टियर) विद्यार्थीहरूको सक्रिय सहभागितामा निर्माण कार्य सुरु गरिएको छ। पोखरा महानगरपालिका वडा नं। १३ का वडा सदस्य बलबहादुर बराल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज बराल तथा विद्यालयका निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बरालगायतले संयुक्त रुपमा आइतवार गर्नुभएको थियो।
शिलान्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस योजनाका संयोजक तथा विद्यालयका सहायक प्रधानाध्यापक विष्णुप्रसाद दाहालको विशेष पहलका कारण विद्यालयले उक्त योजना प्राप्त गरेको भन्दै उहाँप्रति विशेष धन्यवाद ज्ञापन गरिएको छ। कार्यक्रममा लायन्स क्लब अफ अन्नपूर्णका पूर्व अध्यक्ष सोनाङ साङ्पा, सेती गङ्गा लायन्स क्लबकी अध्यक्ष सिर्जना हिराचन, सचिव अमिता राज भण्डारी लगायत क्लबका पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। यस परियोजना सम्पन्न भएपछि विद्यालयमा लामो समयदेखि रहँदै आएको स्वच्छ पिउने पानीको समस्या समाधान हुने विश्वास गरिएको विद्यालयका प्रधानाध्यापक संगित पोख्रेलले वताउनु भयो ।






