कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जाने सडक हाल अस्थायी रूपमा सुचारु, रातिको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

-


     पोखरा क्लिक     
     असार २९ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २९ असार,

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण हिजो ९आइतबार० देखि अवरुद्ध भएको कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत नयाँपुल–वीरेठाँटी–घान्द्रुक सडक खण्ड आज ९सोमबार० साँझदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ । अन्नपूर्ण गाउँपालिका–८ स्थित स्याउली बजार क्षेत्रमा गएको पहिरो हटाएर वैकल्पिक मार्ग निर्माण गरेपछि सडकमा सवारीसाधन सञ्चालन गरिएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पोखराक्लिकलाई जानकारी दिए। उनका अनुसार गाउँपालिका, सुरक्षा निकाय, स्थानीयवासी तथा डोजरको प्रयोगबाट संयुक्त रूपमा सडक खुलाइएको हो।

सडक सञ्चालनमा आएसँगै आइतबारदेखि घान्द्रुक क्षेत्रमा रोकिएका १५ भन्दा बढी सवारीसाधन सोमबार साँझ पोखरातर्फ फर्किएका छन्। त्यस्तै पोखरा र वीरेठाँटीबाट घान्द्रुकतर्फ पनि सवारी आवागमन सुरु भएको छ । अध्यक्ष केसीका अनुसार स्याउली बजार क्षेत्रसमेत अहिले सञ्चालनमा आएको छ। यद्यपि निरन्तर वर्षा भइरहेको र मोदी खोलाको बहाव अझै उच्च रहेकाले सडक पूर्ण रूपमा सुरक्षित भने नरहेको उनले बताए। त्यसैले विशेषगरी रातिको समयमा यात्रा नगर्न र आवश्यक सतर्कता अपनाउन उनले सर्वसाधारणसँग आग्रह गरेका छन्। सडक खुलाउने कार्यमा अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, उपल्लो मोदी हाइड्रो कम्पनी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले बताए । घटनास्थलमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, कास्कीका प्रहरी प्रमुख एसपी नविन कार्की सहितको टोली पुगेर क्षतिको अवलोकन तथा वस्तुस्थिति मूल्याङ्कन गरेको थियो।

बाढीले स्याउली बजारका दुई व्यवसायमा ठूलो क्षति पुर्‍याएको छ। प्रवक्ता गुरुङका अनुसार दिलिप गुरुङको रेष्टुरेन्टमा करिब २५ लाख रुपैयाँ र जगन पुनको रेष्टुरेन्टमा करिब १२ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। केही घरमा समेत बाढी पसेर भौतिक क्षति भएको जनाइएको छ।यसअघि आइतबार परेको अविरल वर्षापछि किम्रुङ खोलाबाट आएको भीषण बाढीले वीरेठाँटी–घान्द्रुक सडक कटान गर्नुका साथै अन्नपूर्ण पदमार्गमा रहेको झोलुङ्गे पुल बगाएको थियो। गाउँपालिकाले नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन, जोखिमयुक्त क्षेत्रमा नजान तथा मौसममा सुधार नआएसम्म अनावश्यक यात्रा नगर्न पुनः अनुरोध गरेको छ।

सडक सञ्चालनमा आएसँगै स्थानीयवासी र पर्यटकलाई ठूलो राहत मिलेको स्थानीय नवराज केसीले पोखरा क्लिकलाई बताए । उनका अनुसार सडक अवरुद्ध हुँदा दैनिक आवतजावत र पर्यटकीय गतिविधि प्रभावित भएको थियो भने अस्थायी रूपमा सडक खुलेपछि स्थानीय जनजीवन र पर्यटन गतिविधि क्रमशः सहज हुन थालेको छ।