
दीननाथ बराल,
पोखरा ३०, असार,
केही समयदेखि रिक्त रहेको नेपाल पर्यटन बोर्डको निजी क्षेत्रतर्फको सदस्य पदमा अन्ततः पाँच जना नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज (मंगलबार) गरेको निर्णयअनुसार पोखराका होटल व्यवसायी सन्तोष पोखरेल सहित पाँच जनालाई बोर्ड सदस्यमा नियुक्त गरेको हो ।

पोखरेलसँगै आरोग्य पर्यटन क्षेत्रबाट डा. सोविता श्रेष्ठ ढकाल, पर्यटन व्यवसायी पेम्बा शेर्पा, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष खुमबहादुर सुवेदी तथा आईटी तथा वेलनेस पर्यटन विज्ञ सृजना केसी बोर्ड सदस्यमा नियुक्त भएका हुन्। नवनियुक्त सदस्यहरूको कार्यकाल तीन वर्षको रहनेछ। पोखराबाट नेपाल पर्यटन बोर्डमा प्रतिनिधित्व सुनिश्चित भएसँगै पर्यटन व्यवसायी तथा पोखरेलीहरूमा नयाँ अपेक्षा जागेको छ। पर्यटनको राजधानीका रूपमा परिचित पोखराको पर्यटन विकास, प्रवर्द्धन र नीतिगत पहलमा अब थप प्रभावकारी आवाज पुग्ने विश्वास स्थानीय पर्यटन व्यवसायीहरूले व्यक्त गरेका छन्। नवनियुक्त सदस्य सन्तोष पोखरेलले आफूले केवल पोखराको मात्र नभई गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रको प्रतिनिधित्व गर्ने भावना बोकेको बताए । पोखराक्लिकसँग कुरा गर्दै उनले पोखरा, गण्डकी र देशभरको पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पोखरा क्षेत्रमा दिगो पर्यटन, वेलनेस तथा आरोग्य पर्यटन, पदमार्ग (हाइकिङ तथा ट्रेकिङ? धार्मिक पर्यटन, ग्रामीण पर्यटन, खेल पर्यटन, प्रकृतिमा आधारित गतिविधिको प्रचुर सम्भावना रहेको सदस्य पोखरेलले जनाए । यी सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म प्रभावकारी रूपमा प्रवर्द्धन गर्न आफूले जिम्मेवार ढंगले काम गर्ने उनको भनाइ छ।ू पर्यटनको राजधानीका रूपमा परिचित पोखराले नेपाल पर्यटन बोर्डमा एउटा प्रतिनिधित्व पाएको छ। “यो अवसरलाई जिम्मेवारीका रूपमा लिँदै पोखरा, गण्डकी र समग्र नेपालको पर्यटनलाई थप उचाइमा पुर्याउन आफ्नो तर्फबाट सक्दो योगदान गर्नेछु । ” पोखरेलले बताए । पोखरेल नाट्टा गण्डकी प्रदेशका पूर्व अध्यक्ष हुन भने पोखरा वाटिका होटलका संचालक समेत हुन् ।
मन्त्रालयले गठन गरेको सिफारिस समितिले एक हजार एक सयभन्दा बढी आवेदनको मूल्यांकनपछि १० जनाको नाम सिफारिस गरेको थियो। सोही सूचीबाट मन्त्रीस्तरीय निर्णयमार्फत पाँच जना सदस्य नियुक्त गरिएको हो। नेपाल पर्यटन बोर्डको संरचनाअनुसार निजी क्षेत्रका पाँच सदस्यसँगै पाँच जना पदेन सरकारी सदस्य रहने व्यवस्था छ। पर्यटन मन्त्रालयका सचिव बोर्डका अध्यक्ष रहनेछन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) सदस्यसचिव हुने व्यवस्था छ। हाल सीईओ पद रिक्त रहेकाले त्यसको नियुक्ति प्रक्रिया पनि छिट्टै अघि बढाइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल(गनेस)ले जानकारी दिए ।







