लागू औषधसहित पाँच भारतीय नागरिक पोखरामा पक्राउ,

-


     पोखरा क्लिक     
     असार २९ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, असार २९,

कास्की प्रहरीले ठूलो परिमाणमा लागू औषध सहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । यही असार २८ गते राति करिब १० बजे पोखरा महानगरपालिका–३२ मझुवा क्षेत्रमा लागू औषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो, पोखरा र इलाका प्रहरी कार्यालय शिसुवाको संयुक्त टोलीले सवारी साधन जाँच गर्दा लागू औषध सहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जाँचका क्रममा पोखरातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यूपि ५३ ईवाई ७७०४ नम्बरको कारलाई रोकी खानतलासी गर्दा कारका विभिन्न भागमा लुकाइछिपाइ राखिएको ठूलो परिमाणको लागू औषध बरामद गरिएको कास्कीका सूचना अधिकारी विरेन्द्रकुमार पासवानले बताउनु भयो । बरामद लागू औषधमा डाइजापाम ६०० एम्पुल, फेनरागन ६४८ एम्पुल र बुप्रेनोर्फिन ६०० एम्पुल गरी जम्मा १ हजार ८ सय ४८ एम्पुल रहेका छन् । साथै नाइट्रोभ्याट ३० चक्की, ट्यापेन्टाडोल १०० चक्की, ट्रामाडोल ३८० चक्की र ५ थान मोबाइल फोन समेत बरामद गरिएको उहाँले जनाउनु भयो ।

प्रहरीले कारमा सवार पाँचै जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ । पक्राउ परेकाहरू माथि कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेहरूमा उत्तर प्रदेश सरदारनगर, गोरखपुरका विकास कुमार (२७), फोराबार–सुबाबजार, गोरखपुरका आशिष कुमार (२९), कुसमही बजार, गोरखपुरका अभय कुमार मिश्रा (२९), कुसमही बजार, गोरखपुर, नन्दनगर बरगहिता कुडाघाट खोराभार गोरखपुर बस्ने पृतम कुमार (३३) र कुसुमी बजार, गोरखपुर, कुडाघाट, खोराघार, गोरखपुरका अभिषेक कुमार (२५) रहेको प्रहरीले जनाएको छ ।