यू–१६ छात्र र छात्रा जुनियर ह्यान्डबलमा गुरुकुल र गण्डकी बोर्डिङ च्याम्पियन जुनियर प्रशिक्षक द्वय बस्नेत र श्रेष्ठ सम्मानित

-


     पोखरा क्लिक     
     असार २९ गते २०८३ मा प्रकाशित


पोखरा ,

गण्डकी प्रदेश ह्यान्डबल संघको आयोजनामा, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्यान्डबल संघको प्राविधिक सहयोगमा आयोजित यू–१६ छात्ररछात्रा जुनियर ह्यान्डबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगिताको छात्रतर्फ गुरुकुल विद्यासदन मावि च्याम्पियन बनेको छ । फाइनल खेलमा गुरुकुलले पोखरा एकेडेमीलाई १२–१० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । पोखरा लर्नस तेस्रो स्थान हासिल गर्‍यो ।

त्यस्तै छात्रातर्फ गण्डकी बोर्डिङ स्कुल आवासीय मावि ‘ए’ टिम च्याम्पियन बनेको छ । फाइनल खेलमा गण्डकी बोर्डिङले प्रगति माध्यमिक विद्यालयलाई ३–० गोलले पराजित गर्दै उपाधि हात पारेको हो । तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी बोर्डिङ ‘बी’ टिमले पोखरा एकेडेमीलाई ७–३ गोल अन्तरले हरायो । प्रतियोगिताका विजेता टोलीले समान २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता टोलीले १५ हजार तथा तेस्रो स्थान हासिल गर्ने टोलीले १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

व्यक्तिगत विधातर्फ छात्रमा गुरुकुलका दिव्य गुरुङ सर्वाधिक गोलकर्ता घोषित भए । छात्रातर्फ गण्डकी बोर्डिङ स्कुलकी सुस्मिता कुमारी जैसी सर्वाधिक गोलकर्ता बनिन् । उत्कृष्ट गोलरक्षकको उपाधि छात्रतर्फ पोखरा एकेडेमीका अनिक परियार र छात्रातर्फ गुरुकुलकी रबिना चेपाङ ले प्राप्त गरे । उत्कृष्ट खेलाडी छात्रतर्फ प्रगति माध्यमिक विद्यालयकी दिप्ती बानियाँ र पोखरा एकेडेमीका अशेर कुमाल घोषित भए । व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक तथा सर्वाधिक गोलकर्ताले जनही ३ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । विजेता टोली तथा खेलाडीलाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री गोविन्दबहादुर नेपाली, राष्ट्रिय ओलम्पिक एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङ, गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थ, गण्डकी बोर्डिङ स्कुलका प्राचार्य डा। सुधीर पौडेल, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरुङ, कास्की ह्यान्डबल संघका अध्यक्ष चित्रबहादुर थापा, गुरुकुल विद्यासदनका प्राचार्य भुवन सुवेदी, परिषद्का पूर्व सदस्यद्वय अमृत बराल र गिरमान गुरुङ लगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

समापन समारोहमा बोल्दै मन्त्री नेपालीले गण्डकी प्रदेश ह्यान्डबल संघले खेलाडी उत्पादनमा खेलेको भूमिकाको प्रशंसा गर्दै प्रदेश सरकार खेलकुद क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए । गण्डकी प्रदेश ह्यान्डबल संघले प्रतियोगिताको समापन अवसरमा जुनियर ह्यान्डबल प्रशिक्षकद्वय विशाल बस्नेत र दिनेश श्रेष्ठ लाई सम्मान गरेको छ । सन् २०२५ मा भारतमा सम्पन्न तथा सन् २०२६ मा बंगलादेशमा आयोजना भएको आईएचएफ ट्रफी प्रतियोगितामा यू–१८ पुरुष राष्ट्रिय टोलीलाई कांस्य पदक जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै दुवै प्रशिक्षकलाई सम्मान गरिएको हो । उनीहरूलाई गण्डकी प्रदेश सरकारका मन्त्री गोविन्दबहादुर नेपाली, राष्ट्रिय ओलम्पिक एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङलगायतले सम्मानपत्र प्रदान गरेका थिए । यहि असार २६ गतेबाट सञ्चालन भएको प्रतियोगिता छात्रातर्फ ९ र छात्रतर्फ १३ गरी २२ टिमको सहभागिता रहेको थियो ।