च्यारिटी डिनरमार्फत साहारा एकेडेमीलाई सहयोग जुटाउँदै साहारा क्लब अष्ट्रेलिया

-


     पोखरा क्लिक     
     असार २९ गते २०८३ मा प्रकाशित


पोखरा,

साहारा क्लब अष्ट्रेलियाको आयोजनामा सिड्नीको रकडेलस्थित द मुग्लान रेस्टुरेन्टमा आयोजित (च्यारिटी डिनर तथा मिट एन्ड ग्रीट) कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली फुटबलको विकास, आगामी प्रतियोगिताको तयारी तथा सामाजिक उत्तरदायित्वका विविध विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा नेपाली फुटबलको वर्तमान अवस्था, खेलाडी उत्पादन, पूर्वाधार विकास तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको उपस्थिति थप प्रभावकारी बनाउने विषयमा सहभागीहरूबीच फलदायी अन्तर्क्रिया भएको थियो। साथै जारी फिफा विश्वकपका खेलहरूको विश्लेषण र समीक्षासमेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष विजय राउत, तमुधीं अष्ट्रेलियाका अध्यक्ष हिउपति गुरुङ, विभिन्न दिग्गज तथा भेट्रान फुटबल खेलाडी, खेलकर्मी र नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसै अवसरमा आगामी १०औँ सहारा अष्ट्रेलिया कप–२०२६ सम्बन्धी छलफल गर्दै प्रतियोगितामा सहभागी हुन इच्छुक क्लबहरूका लागि एक्सप्रेसन अफ इन्ट्रेस्ट खुला गरिएको जानकारी आयोजकले दिएको छ। कार्यक्रमको अर्को आकर्षणका रूपमा आहा–रारा गोल्डकपको २५औँ वर्षगाँठको अवसरमा तयार गरिएको ुसिल्भर जुबिली एडिसनु जर्सी तथा सीमित संस्करणको स्कार्फ अष्ट्रेलियामा सार्वजनिक गरिएको थियो। कार्यक्रममा सहभागी अधिकांश अतिथिले जर्सी र स्कार्फ खरिद गर्दै सहारा क्लबको अभियानप्रति ऐक्यबद्धता जनाएका थिए।

कार्यक्रमबाट संकलित सम्पूर्ण रकम पोखरास्थित साहारा एकेडेमीमा आश्रित विपन्न तथा अनाथ बालबालिकाको खेलकुद र शैक्षिक विकासका लागि सहयोगस्वरूप प्रदान गरिने साहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले जानकारी दिए।अध्यक्ष पौडेलका अनुसार कार्यक्रममा सहभागी हुन नसकेका खेलप्रेमी तथा शुभेच्छुकहरूले पनि विशेष संस्करणको जर्सी र स्कार्फ बुकिङ गर्न साहारा क्लब अष्ट्रेलियासँग सिधै सम्पर्क गरी अर्डर गर्न सक्नेछन्। सामाजिक उत्तरदायित्व, नेपाली फुटबलको प्रवर्द्धन र साहारा एकेडेमीलाई सहयोग गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले नेपाली समुदायबीच सकारात्मक सन्देश प्रवाह गर्नुका साथै खेल र समाजसेवालाई जोड्ने अभियानलाई थप बल पुगेको आयोजकले जनाएको छ।