गण्डकी पदकबाट भलिवलकी शाही, क्रिकेटका प्रजु, आर्चरीका शेरचन, आईटीएफ तेक्वान्दोकी थापा मगर, भूतपूर्व खेलाडी मञ्च सम्मानित, फेन्सिङ, ह्यान्डबल र टेनिस संघ नगदसहित सम्मानित

-


     पोखरा क्लिक     
     असार ३० गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ३०, असार,

गण्डकी प्रदेश खेलकुद परिषद्ले पहिलो पटक स्थापना गरिएको ‘गण्डकी प्रदेश खेलकुद पदक’ अन्तर्गत खेल क्षेत्रको विकास, प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको पहिचान स्थापित गर्न योगदान पु¥याउने खेलाडी, प्रशिक्षक, खेल पत्रकार तथा खेल संघलाई सम्मान गरेको छ । सम्मानित ह्ुनेहरुमा राष्ट्रिय महिला भलिबल टोलीकी अरुणा शाही, क्रिकेटका रिजन प्रजु, आर्चरीका योगेन्द्र शेरचन, अन्तर्राष्ट्रिय आर्चरी खेलाडी असिम शेरचन, आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगर, खेल पत्रकार केशव पाठक तथा नेपाल भूतपूर्व खेलाडी मञ्चलाई गण्डकी पदकबाट सम्मान गरिएको छ ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले आयोजित विशेष समारोहमा विभिन्न ८ विधाअन्तर्गत सात जना व्यक्तित्व र ४ खेल संघलाई सम्मान तथा नगद पुरस्कार प्रदान गर्नुभएको हो । परिषद्का सदस्य सचिव श्रीधर शर्माका अनुसार ‘गण्डकी प्रदेश खेलकुद पदकको स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि–२०८१’ मन्त्रिपरिषद्बाट पारित भएपछि पहिलो पटक यो सम्मान प्रदान गरिएको हो । त्यसैगरी गण्डकी प्रदेश टेनिस संघलाई नेपाली खेलाडीलाई सुकुम्बासी बस्तीदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलतापूर्वक सहभागी गराउँदै आएको योगदानको कदरस्वरूप एक लाख २० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । गण्डकी प्रदेश फेन्सिङ संघ र गण्डकी प्रदेश ह्यान्डबल संघलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागिता गराउँदै खेल विकासमा योगदान पु¥याएको भन्दै जनही ९० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको परिषद्ले जनाएको छ ।

परिषद्का सदस्य सचिव शर्माले गण्डकी प्रदेशमा रहेर खेल क्षेत्रको उन्नयन, विकास र अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न योगदान गर्ने व्यक्ति तथा संस्थाको सम्मान गर्ने अभियानको सुरुवात गरिएको बताउनुभयो । खेलाडीलाई थप हौसला र प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले सम्मानसँगै नगद पुरस्कारको व्यवस्था गरिएको उहाँको भनाइ थियो । उहाँका अनुसार परिषद्ले सार्वजनिक सूचनामार्फत आवेदन माग गरी प्राप्त निवेदनका आधारमा छनोट प्रक्रिया पूरा गरेर सम्मान गरेको हो।

आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो। यसै अवसरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने ४६ जना खेलाडीलाई छात्रवृत्ति प्रदान गरिएको छ । त्यसैगरी परिषद्को खेलाडी कल्याणकारी कोष अन्तर्गत अध्ययनरत खेलाडीलाई शैक्षिक छात्रवृत्ति पनि वितरण गरिएको छ । कक्षा १० सम्म अध्ययन गर्ने खेलाडीलाई १२ हजार रुपैयाँ, कक्षा ११–१२ अध्ययनरतलाई १७ हजार रुपैयाँ, स्नातक तहका विद्यार्थीलाई २७ हजार रुपैयाँ तथा स्नातकोत्तर वा सोभन्दा माथि अध्ययनरत खेलाडीलाई ४५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको परिषद्ले पोखराक्लिकलाई जनाएको छ ।

अन्तराष्ट्रिय स्तरमा खेलेका दृष्टिविहीन क्रिकेट तथा कबड्डीका खेलाडीलाई जनही १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । साथै राष्ट्रपति रनिङ शिल्डमा पदक जितेका ४६ जना खेलाडी तथा सम्मानित खेलाडी र प्रशिक्षकलाई एक वर्षको आकस्मिक दुर्घटना बीमा समेत गरिएको सदस्य सचिव शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव शेषनारायण पौडेल, शाखा अधिकृत टंकप्रसाद ढकाल, परिषद्का कार्यालय प्रमुख तोपलाल भुसाल लगायतको उपस्थिति रहेको थियो ।

परिषद्ले सुरु गरेको गण्डकी प्रदेश खेलकुद पदकलाई प्रदेशमा खेलाडी, प्रशिक्षक, खेल पत्रकार तथा खेल संघको योगदानको संस्थागत सम्मानका रूपमा लिइएको छ । यस अभियानले खेल क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तित्व र संस्थालाई थप प्रेरणा प्रदान गर्नुका साथै गण्डकी प्रदेशको खेलकुद विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।